दीपक बोहरा
तुलसीपुर, ३ असार ।
दाङ आफैमा विकसित जिल्ला हो । तर, अझै पनि दाङमै सडक नपुगेका ठाउँहरू पनि छन् । ति मध्ये एउटा हो, तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ को खुमखानी । जहाँ लामो समयदेखि त्यहाँका जनता सडक सेवाबाट बञ्चित छन् । सडक नहुँदा ३ घण्टा हिड्नु पर्छ । सडक नहुँदा अहिलेसम्म ६ जना बिरामीहरू उपचारकालागि लैजादै गर्दा बाटोमै मृत्यु समेत भएको छ । पढाईकालागि त्यहाँ एउटा कक्षा ५ सम्मको विद्यालय छ । तर, दरबन्दी छैन । एकजना राहातको शिक्षक र एक जना बाल विकासका शिक्षक मात्रै छन । कक्षा ५ भन्दा माथिको अध्ययनकालागि बजार नै आउनु पर्छ । आर्थिक अवस्था कमजोर भएकाले त्यहाँ माथिल्लो स्तरसम्म पढाउन सक्ने अवस्था रहदैन र धेरैजना पढाई छोडेर विदेश जानुपर्ने अवस्था छ । विद्युत भने बल्ल–तल्ल पुगेको छ । “धेरै मेहनत पछि विद्युत त बल्ल तल्ल पुगेको छ”, स्थानीय ओपबहादुर थापाले भने “अब तत्काल सडक चाहिएको छ ।”
खुमखानी एतिहासिक ठाउँ पनि हो । जहाँ कुनै समय राजाले राज्य गरेको ठाउँ हो । बाइसे–चौविसे राज्य भुरेटाकुरे राजाहरूले राज गरेको इतिहाँस खुमखानीमा छ । त्यहाँका बुढापाका ओपबहादुर थापाका अनुसार वारी खुमखानी राजा र पारि छिल्लीकोटे राजा बस्थे । ती दुई राजाबीच वारिपारि लडाई हुन्थ्यो । वारिबाट खुमखानी राजाका सिपाहीहरूले गोली बर्साउथे, भने पारीबाट छिल्लीकोटे राजाहरूले गोली बर्साउथे । त्यसका केही केही अबशेषहरू अहिले पनि भेटिने गरेको ६९ बर्षीय थापाले बताए । त्यहाँ केही आकर्षक ढुंगाहरु भएको स्थान भेटिन्छ, जसलाई ‘हनुमान ढोका’ भन्ने गरिएको उनको भनाई छ । हनुमान ढोका भन्दा तल ठूलो बन छ । त्यो बनलाई ‘टुँडीखेल’ भनिन्छ । जहाँ राजाहरूका सिपाहीहरूले कवाज खेल्ने ठाउँका रुपमा थियो । रानी कोल पनि त्यही छ ।
त्यो ठाउँ पर्यटनका हिसाबले पनि उत्तम रहेको उनले बताए । अग्ला डाँडाकाँडा भएकाले जिल्लाका सबै भु–भागसहित रुकुम, रोल्पा, सल्यान, प्यूठानसहित भारतका केही ठाउँहरु पनि देखिने उनको भनाई छ । तर, त्यो ठाउँका नागरिकले आफुहरु दाङवासी भएको महसुस भने गर्न नपाएको गुनासो गरेका छन् । “हामीहरू दाङवासी हौं, जस्तो पनि लाग्दैन”, स्थानीय फत्तबहादुर थापाले भने “दाङ भनेको घोराही, तुलसीपुर नै हुन की जस्तो लाग्छ ।”
तुलसीपुर बजारबाट खुमखानी हेर्दा आकर्षक पनि देखिन्छ । तर, त्यहाँको वास्तविकता भने फरक छ । अहिले त्यहाँ ३२ घर छन् । कुनै समय त्यहाँ ६०/६५ घर थिए । तर, अलिकति जीवन स्तर सुध्रियो भने त्यहाँबाट बजार तिर बसाई सरिहाल्ने गरेको स्थानीय अमरबहादुर घर्तीले बताए । “पहिले यहाँ ६०/६५ घर थियो”, स्थानीय उनले भने “तर, यहाँको दुःख देखेर अहिले अलिकति हुनेखाने भएपछि बजारतिर झरिहाल्छन्, अहिले हामीहरु त्यहा ३२ घरको हाराहारीमा छौं ।”
त्यो ठाउँकालागि चालु बर्षमा लुम्बिनी प्रदेश सरकारले ३० लाख बजेट विनियोजन गरेको थियो । त्यो बजेटबाट केही सडक ट्रयाकको काम सुरु भएको छ, भने आगामी आर्थिक वर्षकालागि संघीय सरकारले एक करोड बजेट विनियोजन गरेको छ ।
सल्यानको सीमानामा पर्ने त्यो ठाउँमा कपुरकोटबाट सडक आउछ, की भन्ने अपेक्षा रहेको थापाले बताए । सडक सञ्जाल आएपछि त्यहाँको जीवनस्तर सुधार हुने उनको भनाई छ । अहिले प्रत्येक घरमा ५० देखि १००सम्म बाख्रा पालन गरिएको भन्दै त्यसलाई बजारमा लैजान पनि सडक अपरिहार्य रहेको उनको भनाई छ । “सबै भन्दा बिकट जिल्ला हुम्ला हो, त्यहाँ पनि भर्खरै सडक पुगिसकेको छ”,उनले भने “तर, हाम्रोमा विद्युत कहिले पुग्ने हो पत्तो नै छैन ।”
त्यहाँ खानेपानीको भने सहज पहुँच छ । सोलारको प्रयोग गरि खानेपानीको लिफ्टिङ गरेर खोलाबाट पानी ल्याईएको छ । त्यसले खानेपानीमा भने केही सहज बनाएको हो । यस अघि घण्टौं हिडेर पानी ल्याउनु पर्ने बाध्यता रहेको थियो । अहिले त्यहाँ शिक्षाका हिसाबले भने नाजुक छ । कक्षा ५ सम्म मात्रै पढाई हुन्छ । त्यसपछि कक्षा ६ देखि माथि पढ्नकालागि तीन घण्टा हिडेर बजार पुग्नु पर्ने अबस्था रहेको घर्तीको भनाई छ ।“कि त बजार कोठा भाडामा लिएर पढ्नु प¥यो, हाम्रो जीवनस्तर पनि नाजुक भएकाले त्यो पनि सम्भव छैन”, उनले भने“घरबाट हिडेर पनि त्यहाँ पढाई भ्याउने अवस्था छैन् ।”
यसले गर्दा पनि विद्यार्थीले पढाईलाई निरन्तरता दिन सकिरहेको अवस्था नभएको उनको भनाई छ । अहिलेसम्म त्यो गाउँका ६/७ जनाले मात्रै कक्षा १२ सम्म पढेका छन् । उनीहरू त्यो भन्दा माथिल्लो कक्षा पढ्न समेत सकेका छैनन् ।
खुमखानी गाउँ स्वास्थ्यका हिसाबले समेत पछाडी परेको छ । “गाउँमा सामान्य उपचार पनि हुँदैन् । सिटामोल किन्नु प¥यो भनेपनि बजार नै झर्नुपर्छ ”, स्थानीय अमरबहादुर घर्तीले भने “ सामान्य घाउ चोटपटक लाग्यो भने बजार नै पुग्नु पर्छ । सडक सञ्जाल पनि प्रभाबकारी नभएकाले विरामी पनि बोक्न पनि समस्या छ । अहिले विरामीलाई डोकोमा बोकेर बजार पु¥याउनु पर्ने अबस्था रहेको छ ।” कतिको त उपचारकालागि ल्याउने क्रममा बाटोमै मृत्यु हुने अबस्था रहेको समेत उनको भनाई छ । त्यहाँ चार वटा गाउँ छन् । खुमखानीमा उपल्लो गाउँ, तल्लो गाउँ, च्यानडाँडा र झारगाउँ गरि चारवटा गाउँ छन् ।
बल्यो‘विजुली’
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ स्थित खुमखानीमा विद्युत पुगेको छ । यस अघि त्यहाँ विद्युत नहुँदा सोलार र टुक्कीको भर पर्नुपर्ने बाध्यता थियो । सोही ठाउँमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरको सहकार्यमा विद्युत पुगेको हो । विद्युत पुगेसंगै त्यहाँका बासिन्दा खुसी भएका छन् ।“हामीले विद्युत पाउने कल्पना पनि गरेका थिएनौं, अहिलेसम्म सडक पनि पुगेको छैन”,स्थानीय छबि विकले भन्नुभयो “अहिले विद्युत बलेको छ, खुसी भएका छौं, अब घट्ट, पानीका मोटर चल्ने वातावरण बनेमा सहज हुनेथियो ।”
१९ लाखको लागतमा सोही स्थानमा विद्युत पु¥याईएको हो । अहिले ‘सिंगल फेज’ लाइन त्यहाँ पुगेको छ । आबश्यकता अनुसार विद्युतको क्षमता विस्तार गरिने विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशाालीले बताए । उनले पहिलो चरणमा दाङका विद्युत नपुगेका ठाउँमा विद्युत पु¥याउने अभियानमा रहेको बताए ।“दाङमा पनि अझै धेरै ठाउँमा विद्युत नपुगेका ठाउँ पनि रहेछन्”,उनले भने “हामी पहिलो चरणमा विद्युत नपुगेका ठाउँमा विद्युत पु¥याउने अभियानमा छौं, त्यसपछि आवश्यकता अनुसार क्षमता विस्तार गर्न तर्फ लाग्नेछौं ।”
अहिले आफूहरुले जसरी हुन्छ, अन्धकार बस्तिलाई उज्यालो बनाउने अभियानमा लागेको भन्दै दाङमा पछिल्लो एक बर्षमा ६ स्थानमा विद्युत बाल्न सफल भएको समेत बताए । “खुमखानीकै सन्दर्भमा हामीले ३२ घरकालागि मात्रै १९ लाख खर्च गरेका छौं”, उनले भने “यो भनेको हामी ब्यबसायी मुखी नभई जनतालाई सहज उज्यालो पु¥याउने अभियानमा छौं ।”
खुमखानी विगतदेखि नै उपेक्षामा परेको भन्दै यस क्षेत्रमा अहिले धेरै मेहनत पछि विद्युत पुगेको र अब सडककालागि पनि पहल अगाडि बढिरहेको तुलसीपुर ४ का वडाध्यक्ष तुलसी थापाले बताए । “हाम्रो पालिकाको एउटा विकट ठाउँ खुमखानी हो, त्यहाँ बत्ति थिएन, अहिले हामीले बत्ति पु¥याउन सफल भएका छौं”,उनले भने “अब त्यहाँ सडकको माग जोडतोडले उठेको छ, त्यहाँ सडक पु¥याउन पनि हाम्रो उत्तिकै कसरत छ ।” सोही वडाको दद्रेनी ट्रान्समिटरबाट त्यहाँ विद्युत विस्तार गरिएको हो । केही समयमा सडकको पनि ट्रयाक खुल्ने वडाध्यक्ष थापाको भनाई छ । उनका अनुसार यो भन्दा अघि ३० लाख बजेटले केही काम अघि बढेको र आगमी आर्थिक वर्षकालागि एक करोड बजेट परेकाले त्यसले खुमखानी सडक पु¥याउन सहज हुने बताए । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । ४ असार २०८१, सोमबार ०८:०३ बजे