महिला मानवअधिकार रक्षक सञ्जालले भन्यो : सुरक्षाकर्मी नै हत्यामा उत्रिनु थप खेदजनक

तुलसीपुर,२७ जेठ । महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल, दाङले जिल्लामा हत्याका घटनाहरु बढिरहेको भन्दै सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने बताएको छ ।

आईतबार एक प्रेस विज्ञप्ति जारी गरि शनिबार तुलसीपुरमा सेनाका अमलदार शालिकराम बुढाथोकीले पूर्व श्रीमतिमाथि खुँडा प्रहार गरि हत्या गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सुरक्षाकर्मी नै यसरी हत्यामा उत्रिनु थप खेद जनक रहेको विज्ञप्तिमा उल्लेख छ ।

यो घटनाले सम्बन्ध विच्छेद भइसकेपछिपनि एउटा मान्छेको बाँच्न पाउने अधिकार समेत हनन् भएको सञ्जालले बताएको छ ।


यस्तो दुःखद घटना हुँदा पनि सामाजिक सञ्जालमा अपराधको पक्षपोषण गर्ने गरि अभिब्यक्ती आएको भन्दै अझै पनि समाज महिलाद्धेशी सोँच बलियो रहेको विज्ञप्तिमा उल्लेख छ । यसरी दाङमा दिनप्रतिदिन हत्याका घटना भइरहेको भन्दै दोषीमाथि कडा भन्दा कडा कारवाहीको माग समेत गरिएको छ ।

अपराध विरुद्ध कानुनी सचेतना, सबै खाले भेदभावविरुद्ध सचेतना, लैंगिक समानता र लैगिंक सम्वेदनशिल सोँच प्रबद्र्धन गर्ने कार्यलाई प्रभाबकारी रुपमा समाजमा लैजाने खालका योजना बनाउनु पर्ने सञ्जालको माग छ ।