प्रिया स्मृती गजमेर / लमही, २५ जेठ ।
‘स्वस्थ पशु उत्पादन, दिगो आम्दानीको आधार’ भन्ने मुख्य नारा सहित हरेक वर्ष जस्तै यो वर्ष पनि लमही नगरपालिकाको पशु सेवा उपशाखाले नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
नि:शुल्क शिविर कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले पशुपालक किसानहरुका लागि मागप्रति लमही नगरपालिका गम्भीर भएको बताउनु भयो । सरकारको तीन खम्बे अर्थानितीलाई सहयोग गरिरहेको कृषि र किसानहरुको हक हित र उत्थानका निमित्त स्थानीय सरकार सदैव चिन्तनशील रहेको उहाँको भनाई छ । किसानलाई प्रोत्साहन गर्नु पर्छ, किसानका हक हित र संरक्षणका निम्ति सरकार प्रयत्नशील रहेको उहाँको भनाई छ ।
लमही नगरपालिका-१ का वडा अध्यक्ष दामोदर पौडेलले लमही नगरपालिकाले वार्षिक रुपमा पशु स्वास्थ्य नि:शुल्क शिविर कार्यक्रम गर्दै आएको बताउदै किसानका गाई, बाख्रा, भैसिलाई सहज रुपमा घरमै उपचार गर्न मिलोस भनेर वडाको दुई स्थानमा शिविर संचालन गरेको वडा अध्यक्ष दामोदर पौडेलले बताउनु भयो ।
आगामी साउन देखि वडा नम्बर १,२ र ३ सम्म हेर्ने गरि पशु र कृषि सम्बन्धि डाक्टर सहितको सेवा प्रदान गर्ने योजना रहेको वडा अध्यक्ष पौडेलको भनाई छ ।
वडा नम्बर ५ र ६ बाहेकका वडाहरुमा एक दिने नि:शुल्क बाँझोपन निवारण तथा पशु स्वास्थ्य शिविर संचालन पश्चात आज शिविर सकिदैछ । लमही नगरपालिका पशु सेवा उप-शाखाको आयोजनामा वडा नबर १, २,३,४,७,८ र ९ नम्बर वडामा नि:शुल्क शिविर संचालन गरेको थियो । वडा नम्बर ५ र ६ मा पशु सेवा उप-शाखाको कार्यालय भएकोले त्यहाँ शिविर नगरेको लमही नगरपालिका पशु सेवा उपशाखा प्रमुख शिवराज न्यौपानेले बताउनु भयो । शिविरमा झन्डै ११ हजार पशुहरुको नि:शुल्क बाँझोपन निवारण तथा पशु उपचार भएको छ ।
पशु शिविर आयोजना गरेर लमही नगरपालिकाले कृषकलाई सहजता प्रदान गरेको स्थानीय पशु पालक जिवा सुवेदीले बताउनु भयो । ठुला-ठुला रोगको उपचार गर्न किसानलाई कठिन हुने गरेको भन्दै यो समस्यामा ध्यान दिन लमही नगरपालिकालाई सुझाव दिनु भएको छ ।
लाइभदाङ । २५ जेष्ठ २०८१, शुक्रबार १६:२३ बजे