सल्यानमा हावाहुरीबाट १७ लाखभन्दा बढीको क्षति

सल्यान, २० जेठ ।
सल्यानमा हावाहुरीले १७ लाखभन्दा बढीको क्षति पुर्‍याएको छ। शनिबार साँझ आएको हावाहुरीले दुई दर्जनभन्दा बढी भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार १० घर, १ प्रहरी युनिट, २ विद्यालय, १ स्वास्थ्य चौकी, १ बाख्रा फर्म, १ फर्निचर उद्योग र २ गाई गोठमा क्षति पुगेको हो। हावाहुरीले जस्तापाता उडाउँदा र आगलागी हुँदा अन्दाजी १७ लाख ५७ हजार २०० रुपैयाँबराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए।

कालिमाटी गाउँपालिका– ५ दमदुवालीस्थित मददुवाली स्वास्थ्य चौकीको छाना उडाउँदा आंशिक क्षति भएको छ। छाना उडाउँदा १ लाखबराबरको क्षति भएको उनको भनाइ छ।


यस्तै, कपुरकोट गाउँपालिका-१ कार्कीगाउँमा रहेको दवन आधारभूत विद्यालयको एककोठे विद्यालय र कालीमाटी गाउँपालिका-२ झिँगानेस्थित सिर्जनशील माध्यमिक विद्यालयको ४८ वाटको सोलारमा क्षति पुगेको छ।

जिल्लाका विभिन्न स्थानीय तहमा हावाहुरीले घरको छानो उडाउँदा ठूलो मात्रामा क्षति भएको हो। शारदा–१० पैयाँखर्ककी ६८ वर्षीया पार्वती खड्काको फुसको छानामा खेतबारीमा लगाएको आगोको झिल्को आउँदा घरमा आगलागीसमेत भएको छ।

जिल्लाका अन्य स्थानमा पनि क्षति पुगेको र क्षतिको डाटा संकलन गर्ने कार्य भइरहेकाले क्षतिको विवरण अझै बढ्ने सूचना अधिकारी धमलाको भनाइ छ।