विपद् व्यवस्थापनमा लैंगिकता र अपाङ्गताको विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

तुल बहादुर कवँर मगर
देउखुरी, २० जेठ ।
विपद् व्यवस्थापनमा महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा राष्ट्रिय आवास तथा बस्ती उत्थानशील समन्वय मञ्च नेपालको आयोजनामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा लै‌ङ्गिक समानता,अपाङ्गता तथा सामाजिक समावेशीकरण सम्बन्धी आईतवार राप्ती गाउँपालिकामा सम्पन्न एक दिने कार्यशाला गोष्ठीका सहभागीहरुले विपद् व्यवस्थापनका नीति तथा कार्यक्रमहरु बनाउदा उनीहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

सबै किसिमका विपदबाट यही समुदाय सवैभन्दा बढी प्रभावित हुने औल्याइएको थियो । कार्यशालाको उद्घाटन सत्रमा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विपद्को समयमा उद्धार कार्यमा खटिने व्यक्तिहरुले यसको मर्म बुझ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नीति भएता पनि त्यसको कार्यान्वयनमा गम्भिरता नदेखिएको भन्दै उहाँले कार्यान्वयनको पाटो सुधार गर्नुपर्ने बताउनुभयो । त्यस्तै अध्यक्ष विष्टले विपद् आउनै नदिन यसको पूर्वतयारीमा बढी काम गर्नुपर्ने धारणा राख्नुभयो । यसका लागि विपद्बाट बढी प्रभावित समुदायलाई लक्षित गरी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।


गोष्ठीमा लैङ्गिक समानता,अपाङ्गता तथा सामाजिक समावेशीकरणका लुम्बिनी प्रदेश प्रकाश विकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका ऐन, नीति, कार्यक्रमबारे जानकारी गराउनु हुँदै विपदबारे आम सर्वसाधारणलाई उनीहरुले बुझ्ने भाषामा कसरी बुझाउने भन्नेबारे प्रस्तुती गर्नुभएको थियो ।

कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी,वडा नम्बर १ का वडा अध्यक्ष गेम बहादुर खड्का,वडा नम्बर ४ का वडा अध्यक्ष बिर बहादुर चौधरी,लुम्बिनी प्रदेश विपद् पुनर्निर्माणका प्राविधिक इन्जिनियर प्रकाश बस्नेत,कार्यपालिका सदस्य,न्यायीक समिति सदस्यहरु लगायत गाउँपालिकामा गठित विभिन्न सञ्जालका प्रतिनिधिहरुको सहभागीता रहेको थियोे ।

राप्ती गाउँपालिका कार्यपालिका सदस्य चम्फा भुसालको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले गर्नु भएको थियो।