जेसिज सप्ताह : अन्तरविद्यालय फुटसल प्रतियोगिता

तुलसीपुर, १८ जेठ । तुलसीपुरनगर जेसिजले सप्ताह व्यापी कार्यक्रम अन्र्तगत आज छैठौं दिन अन्तरविद्यालय फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । तुलसीपुर उपमहानगरपालिका ६ शिखरकोलोनीस्थित लेजेण्ड फुटसल ग्राउण्डमा प्रतियोगिता सम्पन्न गरेको हो ।

दाङ खेलकुद विकास समितीका कोषाध्यक्ष धुर्व आचार्यले फुटबल खेल साधारण खेल भएको बताउदै बच्चादेखि बृद्धसम्मकाले चासोका साथ खेल्ने गरेको बताएका छन् । प्रमुख अतिथि समेत रहेका आचार्यले पछिल्लो समय फुटबल खेल व्यवसायिक हुदै गएको पनि बताए । त्यस्तै उनले व्यवसायिक खेलबाहेक दैनिक शारिरीक अभ्यासको लागि पनि यो खेल राम्रो भएको बताए । फुटबल खेल्दा मानिसले औसत ५ देखि ७ माइलसम्म दौडने गर्छ, जसले गर्दा कार्डियोभास्कुलर हेल्थलाई राम्रो बनाउने बताए ।

त्यस्तै दाङ जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष सुरेश श्रेष्ठले फुटबल खेल्दा शारीरिक, मानसिक अभ्यास र मनोरञ्जन एकैपटक हुने भएकाले यस खेलप्रति सबैको चासो रहेको बताए । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका श्रेष्ठले यस खेलले मानिसभित्र लुकेको विजेता बन्ने आकांक्षालाई प्रकट गराउनुका साथै हारलाई स्वीकार गर्न सक्ने स्वभावको पनि विकास गराउने बताए । त्यस्तै उनले मानसिक स्वास्थ र सुदृढीकरणका लागि पनि फुटबल खेल महत्वपूर्ण रहेको जिकिर गरे ।

तुलसीपुरनगर जेसिजका अध्यक्ष पूर्ण बहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका मुल संयोजक सुरज भण्डारीले जेसिज सप्ताह बारे प्रकाश पारेका थिए ।


कार्यक्रममा तुलसीपुरनगर जेसिजका पूर्वअध्यक्षहरु मोहन सुनार र केशवराज केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भने कार्यक्रम संयोजक केशवराज न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजिकरण कमलप्रकाश शर्माले गरेका थिए ।

प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालय गरेर २६ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा कक्षा १० देखि मुनिका खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा गुरुजजुर माध्यामिक विद्यालय प्रथम भएको छ भने तुलसी आवासीय माध्यामिक विद्यालय दोस्रो भएको छ ।

यसैबिच भोलि शनिबार जेसिज सप्ताहको अन्तिम दिन सहयोग, सम्मान तथा समापन कार्यक्रम हुने अध्यक्ष डाँगीले जानकारी दिए । साथै उनले सम्पूर्णलाई कार्यक्रममा सहभागिताका लागि आग्रह समेत गरेका छन् ।