इजरायले अझै ७ महिना गाजामा युद्ध जारी राख्ने

काठमाडौं, १८ जेठ ।
इजरायले यस वर्ष सन् २०२४ को अन्त्यसम्म गाजामा आक्रमण जारी राख्ने भएको छ । रफाहमा विद्रोही समूह हमासमाथि सैन्य कारबाही गरिरहेको इजरायलले गाजामा अझै ७ महिना युद्ध जारी राख्ने सङ्केत गरेको बीबीसीले जनाएको छ ।

पछिल्लो समय विभिन्न मध्यस्तकर्ताको सहयोगमा युद्धविराम हुने चर्चाका बीच इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले सन् २०२४ लाई इजरायलको युद्ध मन्त्रीमण्डलले ‘लडाइँको वर्ष’ घोषणा गरेको बताउनुभएको छ ।


उहाँले गाजालाई पूर्ण रुपमा नष्ट नगरेसम्म आफ्नो लक्ष्य पूरा नहुने भन्दै युद्ध अन्त्य हुने आशामा शङ्का व्यक्त गर्नुभएको छ । हमासविरूद्धको कारबाही शुरु भएपछिको पहिलो पटक मध्य रफाहमा देखिएका इजरायली ट्याङ्कहरू अस्ति बुधवार दक्षिणी गाजा सहरतर्फ अगाडि बढेपछि यी प्रतिक्रिया आएका हुन् ।