संघीयता बिरोधी गतिविधि गणतन्त्र माथी कै प्रहार : सभामुख

देउखुरी, १५ जेठ ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित र अझै सुदृढ बनाउदै जनताको जनजीविकालाई सम्वोधन गर्नु आवश्यक रहेको जनाउनु भएको छ ।

१७ औं गणतन्त्र दिवसको अवसरमा आज बिहान शुभकामना सन्देश जारी गर्नुहुदै सभामुख घर्ती मगरले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति जनताले गर्व गर्ने अवस्था निर्माण गर्न अझ सुदृढ एकता सहितको रुपान्तरणको खाँचो रहेको औंल्याउनु भयो ।

उहाँले राज्य संयन्त्रमा भएका परिवर्तनहरु सबै तह र तप्काका नागरिकले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन गर्नु पर्ने जिम्मेवारी थपिएको उल्लेख गर्नुहुदै गणतन्त्र दिवसले संविधानको मर्म र भावना अनुसार अघि बढ्न, राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति समर्पित हुन सबैमा प्रेरणा अपेक्षा गर्नु भयो । ‘नेपाली जनताको ठूलो बलिदानी पूर्ण संघर्ष पछि उपलब्धिका रूपमा प्राप्त गणतन्त्रलाई स्थापित गर्न सकौं, १७ औं गणतन्त्र दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दछु ।’ शुभकामना सन्देशमा उल्लेख छ ।


सभामुख घर्ती मगरले जेष्ठ १५ गतेलाई नेपाली राजनीतिको एउटा ऐतिहासिक महत्वको दिनको रुपमा सयौं वर्ष लामो निरङकुश राजतन्त्रको अन्त्य भई जनताको छोरा छोरी राष्ट्र प्रमुख हुने अवसर प्राप्तिको दिन रहेको स्मरण गर्नु भएको छ । उहाँले गणतन्त्र स्थापनामा योगदान पु¥याउनु हुने महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, विभिन्न क्रान्ति र संघर्ष लगायत सबै न्यायपूर्ण आन्दोलनहरुमा सहादत प्राप्तु गर्नुहुने सम्पूर्ण सहिदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुहुदै वेपत्ता परिवार तथा घाईत योद्धाहरुप्रति सम्मान व्यक्त गर्नु भएको छ ।

नेपालको गणतन्त्रात्मक संविधान –२०७२ ले व्यवस्था गरे अनुरुप मुलुक संघीय संरचनामा प्रवेश गरेको र प्रदेश नयाँ र विशेष महत्व बोकेको राजनीतिक तथा प्रशासनीक संरचना भएकोले संघीयता विरोधी तत्वले अहिले सवै भन्दा वढी प्रहार प्रदेश माथी गरेको उहाँले उल्लेख गर्नुभएको छ । ‘जनताको उच्चतम चाहनाको यो व्यवस्थाका विरुद्धमा प्रतिगामी तत्वबाट जवरजस्त आवाज उठाईनुलाई सामान्य रुपमा लिन सकिदैन । यो गणतन्त्र माथी कै प्रहार हो ।’ शुभकामना सन्देशमा उल्लेख छ । उहाँले संघीयतालाई सफल बनाउन प्रदेशलाई सफल बनाउनु पर्नेमा जोड दिनु भएको छ ।

संघीय संरचना प्रदेशलाई सबल बनाउन लुम्विनी प्रदेश सभा प्रदेशलाई आवश्यक पर्ने नीतिगत र कानुनी संरचना निर्माणको दृष्टीले निकै महत्वपूर्ण काम गरेको जनाउनु हुँदै सभामुख घर्ती मगरले जनताको साथ सहयोग र विश्वासले लुम्विनी प्रदेश प्रदेशवासीको मन मस्तिष्कमा छिट्टै स्थापित हुन सफल भएको र यो संघीयताको महत्वपूर्ण उपलव्धी भएको सन्देशमा उल्लेख गर्नु भएको छ ।