दाङका साप्ताहिक पत्रिका सञ्चालक संगठित

तुलसीपुर, १३ जेठ । दाङका साप्ताहिक पत्रिकाका सञ्चालकहरु संगठित भएका छन् । जिल्लामा प्रशाकित पाँच वटा साप्ताहिक पत्रिकाका सञ्चालहरु संगठित भएका हुन् । हाल दाङको तुलसीपुरबाट तीन वटा र घोराहीबाट दुई वटा साप्ताहिक पत्रिका प्रकाशित हुँदै आएका छन् ।

आईतबार घोराहीमा भएको भेलाले सूचनापत्र साप्ताहिकका प्रकाश बंशीकुमार शर्माको संयोजकत्वमा साप्ताहिक पत्रिका सञ्जाल दाङ गठन गरिएको हो । जसको सहसंयोजकमा लौवा अग्राशन साप्ताहिकका प्रकाशक सन्तोष दहित, सचिबमा साक्षी खबर साप्ताहिकका प्रकाशक राकेश बस्नेत र कोषाध्यक्षमा अग्रिम साप्ताहिकका प्रकाशक दिपक बोहरालाई चयन गरिएको छ । त्यस्तै नौलो जनउभार साप्ताहिकका प्रकाशक अजयदिप शर्मालाई सल्लाहकारमा चयन गरिएको छ ।

साप्ताहिक पत्रिकाका हरेक समस्या सामूहिक ढंगबाट हल गर्नकालागि उक्त सञ्जाल गठन गरिएको हो । दाङमा पाँच वटा साप्ताहिक पत्रिका रहेपनि स्थानीय सरकार तथा सरकारका अन्य निकायले ति पत्रिकाको हकहितकालागि कुनै पनि चासो नदिएको भन्दै खबरदारी गरिने संयोजक शर्माले बताए । त्यस्तै साप्ताहिक पत्रिकाले नै सत्य तथा निष्पक्ष समाचार संप्रेशन गरिरहेको र विश्वास पनि दिलाईरहेको अबस्थामा पनि यी पत्रिका जोगाउन तर्फ कसैको ध्यान नगएको उनको भनाई छ ।


दाङबाट आईतबार सूचना पत्र, सोमबार अग्रिम साप्ताहिक, मंगलबार लौवाअग्राशन तथा बुधबार साक्षी खबर र नौलो जनउभार प्रकाशित हुँदै आएका छन् । यी पत्रिकाहरुलाई बोलपत्र आह्वान तथा कोटेशनका सूचना प्रकाशनको अनुमति दिनुपर्ने सहसंयोजक दहितले बताए ।

साप्ताहिक पत्रिकाले खोजी विषय उठाईरहेको भन्दै यसले पत्रकारिताको इथिक्स जोगाइरहेको भन्दै यस तर्फ सबै निकायले ध्यान दिनुपर्ने सचिब राकेश बस्नेतले बताए ।