संगठन बिस्तारनै पार्टीको बलियो आधार : सभापति पाण्डे

प्रिया स्मृती गजमेर/लमही, ६ जेठ ।
नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले संगठन बिस्तारनै पार्टीको बलियो आधार भएको बताउनु भयो । पार्टीलाई मजवुत गराउनका लागि संगठन बिस्तार नै महत्वपूर्ण पक्ष भएको सभापाति पाण्डेले बताउनुभयो ।

आइतबार लमहीमा बसेको नेपाली काङ्ग्रेसको क्षेत्रीय बैठकलाई सम्बोधन गर्दै सभापति पाण्डेले नेपाली काङ्ग्रेस सदैव जनताको साथमा रहेको बताउनु भयो । पार्टीलाई बलियो बनाउन संगठन बिस्तार उच्च प्राथमिकतामा राख्नु पर्ने उहाँको भनाई छ ।

खेतिपातिको समय आएको कुरालाई उल्लेख गर्दै कृषकलाई समयमा मल र बीउ उपलब्ध गराउन स्थानीय सरकारका नेतृत्व तहलाई आग्रह गर्नु भएको छ । मल र बिउको समस्या दिनप्रतिदिन जटिल बन्दै गएकोले किसानका सवालमा गम्भीर बन्न पनि सभापति पाण्डेले सचेत गराउनु भएको छ ।


त्यसैगरी आज आइतबार बसेको बैठकले लमही नगरपालिकाका जनप्रतिनिधिसंग १२ गते, राजपुर गाउँपालिकाका जनप्रतिनिधिसंग १९ गते र गढवा र राप्ती गाउँपलालिकाका जनप्रतिनिधिसंग २६ गते अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको छ ।

नेपाली काङ्ग्रेसको स्थापनाकाल देखि २०४६ सालसम्म पार्टीलाई योगदान गरेका व्यक्तिहरुको तथ्यांक संकलन गरिने भएको छ । यस कार्यका लागि सबै क्षेत्र नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले आ-आफ्ना वडाबाट विवरण संकलन गरि कार्यालयमा पठाउन सबै क्षेत्रीय सदस्यहरुलाई निर्देशन दिनु भएको छ ।

त्यस्तै कृयाशिल सदस्यता नवीकरणलाई प्रभावकारी गराउने, भातृ संस्था, शुभेच्छुक संगठनसंग पनि पार्टीले अन्तरक्रिया गर्ने भएको छ । क्षेत्र नम्बर १ अन्तर्गत मानविय जीवनका आधारभूत आवश्यकताहरु स्वास्थ्य, शिक्षा र स्वास्थ्य लगायतका विषयहरुको निरन्तर अनुगमन गर्ने भएको छ ।