तुलसीपुर उपमहानगरमा क्षयरोगमुक्त अभियान

तुलसीपुर, ५ जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले क्षयरोग मुक्त अभियान सुरुवात गरेको छ । शुक्रबार तुलसीपुरमा सरोकारवालासंग छलफलका क्रममा यस्तो जानकारी गराएको हो । राष्ट्रिय कार्यक्रम अन्तर्गत उपमहानगरपालिकाले यो अभियान सुरु गरेको हो । गएको आर्थिक वर्षमा २५ स्थानीय तहमा यो कार्यक्रम चलेको थियो ।

चालु बर्षमा एक सय पालिकामा यो कार्यक्रम सञ्चालन हुँदैछ । सोही अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका र गढवा गाउँपालिकामा उक्त कार्यक्रम चल्ने स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन गजेन्द्र यादवले बताए । सोही अनुसार तुलसीपुरमा यो कार्यक्रम सुरुवात भएको हो । तुलसीपुरमा चालु वर्षमा दुई सय ६५ क्षयरोगी छन् । ति मध्ये एकसय ३२ जनामा खकार देखिएका, ३६ जना खकारमा नदेखिएका र ७२ जना फोक्सो भन्दा बाहिर देखिएका छन् ।

चालु वर्षमा क्षयरोगबाट तुलसीपुरमा ८ जनाको मृत्यु भएको उपमहानगरपालिकाका जनस्वास्थ्य प्रबद्र्धन महाशाखा प्रमुख ओमपी न्यौपानेले बताए । सबै क्षयरोगीहरु सम्पर्कमा नआउने भएकाले पनि उनीहरुको खोजी गर्ने गरि अभियान सञ्चालन हुने उनको भनाई छ । “धेरै क्षयरोगीहरु स्वास्थ्य संस्थाको सम्पर्कमा नआउँदा एथेष्ट जानकारी आउँने गरको छैन”,उनले भने “जसले गर्दा क्षयरोगीका विरामीहरूले अरूलाई पनि सारिरहेका हुनसक्छन् ।”


उनका अनुसार आँकडा अनुसार तुलसीपुरमा चारसय ३८ को हाराहारीमा विरामी पहिचान हुनुपर्ने भएपनि त्यसो छैन ।तुलसीपुरमा सबै भन्दा बढि ६५ वर्ष माथिका ब्यक्तीमा क्षयरोगको समस्या देखिएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य पबद्र्धन महाशाखाका फोकल पर्सन विमल केसीले बताए । चुरोट, गुट्का, जाँड, रक्सी खाने ब्यक्तीहरूमा बढि यो समस्या देखिने गरेको केसीले बताए ।

क्षयरोग निवारणकालागि वडा–वडामा समिति गठन गरेर सो समितिले सुक्ष्म ढंगले अनुगमन गर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताए ।

दाङमा क्षयरोग परीक्षणकालागि दुई वटा आधुनिक मेसिन रहेका छन् । एउटा मेसिन घोराही र एउटा लमही रहेका छ । त्यस्तै माईक्रोस्कपी २० वटा, डीओटिएस ५० वटा रहेका छन् ।