सन्दीप लामिछाने निर्दोष ठहर

काठमाडौं, २ जेठ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौँको फैसला उल्ट्याउँदै सन्दीपलाई निर्दोष ठहर गरेको उच्च अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता विमल पराजुलीले जानकारी दिनुभयो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।

तर जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो । यस्तै, सन्दीप लामिछानेले पनि जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको भन्दै उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।