
प्रिया स्मृती गजेमेर
देउखुरी, २० असार ।
महिलालाई सीप, रोजगारी र आत्मनिर्भरतासँग जोड्ने उद्देश्यले लमही नगरपालिकाले सञ्चालन गर्दै आएको लघु उद्यम प्रवर्द्धन कार्यक्रम अन्तर्गत उद्यमी महिलालाई प्रविधिमैत्री सामग्री हस्तान्तरण गरेको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास शाखामार्फत सञ्चालन हुँदै आएको कार्यक्रम अन्तर्गत विभिन्न सीपमूलक तालिम पूरा गरेका महिला उद्यमीलाई व्यवसाय विस्तारमा सहयोग पुग्ने गरी आवश्यक उपकरण उपलब्ध गराइएको हो ।
लमही नगरपालिकाले विगतका वर्षदेखि नै महिलालाई विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको छ । तालिमपछि उनीहरूलाई व्यवसाय सञ्चालन गर्न आवश्यक औजार तथा उपकरण उपलब्ध गराउँदै आएको नगरपालिकाले यस वर्ष पनि प्रविधि हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिएको हो । नगरपालिकाले सीप सिकाउने मात्र नभई सिकेको सीपलाई व्यवहारमा उतारेर आयआर्जन गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले गरिबी निवारणका लागि लघु उद्यम विकास शाखामार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
लघु उद्यम विकास शाखाकी उद्यम विकास सहजकर्ता रिता पुन मगरका अनुसार लमही नगरपालिका ३ मा कपडाको झोला उत्पादन गर्ने उद्यमी समूहलाई एक थान इलेक्ट्रोनिक ओभरलक मेसिन, दुई थान इलेक्ट्रोनिक सिलाइ मेसिन तथा एक थान टेबुल हस्तान्तरण गरिएको छ । त्यसैगरी वडा नम्बर ६ मा नयाँ उद्यम सुरु गरेका लेडिज चप्पल उत्पादन गर्ने उद्यमीलाई एक थान अम्ब्रेला सिलाइ मेसिन र एक थान स्टुल वितरण गरिएको छ ।
नगरपालिकाले यस्ता उपकरण उपलब्ध गराएपछि उद्यमी महिलाले उत्पादनको गुणस्तर सुधार गर्न, उत्पादन क्षमता वृद्धि गर्न तथा बजारको मागअनुसार सामान उत्पादन गर्न सहज हुने विश्वास लिएको छ । पछिल्ला वर्षहरूमा लमही नगरपालिकाले सञ्चालन गरेका सीपमूलक तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रमबाट धेरै महिलाले आफ्नै व्यवसाय सञ्चालन गरी परिवारको आर्थिक अवस्था सुधार गर्न सफल भएको नगरपालिकाको दाबी छ । कतिपय महिलाले घरेलु उद्योग सञ्चालन गर्दै नियमित आम्दानी गर्न थालेका छन् भने केहीले अन्य महिलालाई समेत रोजगारीको अवसर सिर्जना गरेका छन ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले महिलाको आर्थिक सशक्तीकरण नगरपालिकाको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताउनुभयो । उहाँले महिलालाई सीप सिकाएर मात्र नहुने भन्दै उनीहरूले सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्न आवश्यक प्रविधि, उपकरण र प्राविधिक सहयोग उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “सीप सिकेपछि त्यसलाई व्यवहारमा प्रयोग गरेर आम्दानी गर्न सक्नुपर्छ । त्यसका लागि आवश्यक उपकरणको अभाव हुन नदिन नगरपालिकाले निरन्तर सहयोग गरिरहेको छ । महिलाले आफ्नै गाउँ ठाउँमा बसेर उत्पादनमूलक काम गर्न सके आर्थिक रूपमा आत्मनिर्भर मात्र होइन, परिवार र समाजको समृद्धिमा समेत महत्वपूर्ण योगदान पुग्छ । आगामी दिनमा पनि उद्यमशील महिलालाई प्रोत्साहन गर्ने, उत्पादनलाई बजारीकरणमा सहयोग गर्ने तथा आवश्यक परे थप प्रविधि उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।”
वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले सीपमूलक तालिम र प्रविधि हस्तान्तरणले महिलामा आत्मविश्वास बढाएको बताउनुभयो । उहाँले तालिमपछि प्राप्त सीपलाई निरन्तर अभ्यास गर्दै व्यवसाय विस्तार गर्न आग्रह गर्दै स्थानीय सरकारले उद्यमीको हौसला बढाउन आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार महिलाले उत्पादन गरेका सामग्रीको गुणस्तरमा विशेष ध्यान दिँदै बजारको मागअनुसार उत्पादन बढाउन सके अझ राम्रो आम्दानी गर्न सकिनेछ ।
लमही नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत महेश थापा ठेडीले स्थानीय तहको उद्देश्य बेरोजगार नागरिकलाई आत्मनिर्भर बनाउनु रहेको बताउँदै उद्यम विकास कार्यक्रमले त्यस दिशामा सकारात्मक परिणाम दिएको उल्लेख गर्नुभयो । उहाँले सीप, श्रम र प्रविधिको उचित संयोजन भएमा सानो लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने बताउँदै नगरपालिकाले उद्यमशीलताको विकासलाई आगामी वर्षहरूमा पनि प्राथमिकतामा राख्ने जानकारी दिनुभयो ।
लमही नगरपालिका वडा नम्बर ५ का वडा सदस्य केशवराज अधिकारीले महिलाहरूले अवसरको सदुपयोग गर्दै आफ्नो व्यवसायलाई दीर्घकालीन बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले स्थानीय उत्पादनलाई स्थानीय बजारसँग जोड्दै गुणस्तरीय उत्पादनमा जोड दिन सके व्यवसाय थप सफल बन्ने विश्वास व्यक्त गर्नुभयो साथै स्थानीय सरकारले आवश्यक समन्वय र सहजीकरण गर्न सधैँ तयार रहने उहाँको भनाइ थियो ।
उद्यम विकास सहजकर्ता रिता पुन मगरले नगरपालिकाले सञ्चालन गर्दै आएको लघु उद्यम विकास कार्यक्रमले धेरै महिलाको जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताउनुभयो । उहाँले तालिम, प्रविधि र निरन्तर परामर्शको माध्यमबाट महिलालाई स्वरोजगार बनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । आगामी दिनमा पनि थप महिलालाई सीपमूलक तालिम, आवश्यक उपकरण तथा उद्यम व्यवस्थापन सम्बन्धी ज्ञान प्रदान गरी आर्थिक रूपमा सक्षम बनाउने योजना रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागी उद्यमी महिलाहरूले नगरपालिकाबाट प्राप्त उपकरणले आफ्नो व्यवसाय सञ्चालन गर्न ठूलो सहयोग पुगेको प्रतिक्रिया दिएका छन । उनीहरूले अब उत्पादन बढाउने, गुणस्तरीय सामग्री तयार गर्ने र आफ्ना उत्पादनलाई बजारसम्म पुर्याउने लक्ष्यका साथ अझ मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।



लाइभदाङ । २० असार २०८३, शनिबार १३:२३ बजे