तुलसीपुर उपमहानगरको स्थापना दिवसः एयरपोर्टकै चर्चा

दाङ, ३० चैत । दाङ तुलसीपुर उपमहानगरपालिकाको स्थापना दिवसमा टरिगाउँ विमानस्थलकै चर्चा भएको छ । पछिल्लो समय टरिगाउँ विमानस्थलमा विमान नियमित हुन सकेको छैन । त्यसलाई नियमित बनाउन तर्फ ध्यान दिन सहभागि बक्ताहरुले जोड तोडकासाथ आवज उठाएका छन् । तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले तुलसीपुर विमानस्थल नबन्दा व्यबसाय क्षेत्रलाई निकै असर गरेको बताए । “हामी ब्यबसायी निकै मारमा परेका छौं”,उनले भने“ एयरपोर्ट सञ्चालन भएमा ब्यबसायी क्षेत्रलाई सहज हुनेछ ।”

केन्द्रीय नेतृत्वले यसमा पहल लिएमा आफूहरु आन्दोलनकालागि पछि लाग्न समेत तयार रहेको उनको भनाई छ । त्यस्तै तुलसीपुर ६ का पूर्वध्यक्ष नवराज लामिछानेले पनि टरिगाउँ विमानस्थललाई विस्तार गर्न नसक्नु निकै दुःखद पक्ष रहेको बताए ।

२०११ सालमा स्थापना भएको उक्त विमानस्थललाई थप विस्तार गर्न नसक्नुले दाङवासीलाई निकै पछि पार्ने गरेको बताए । हालको धावनमार्ग ७ सय ५० मिटर मात्रै हँुदा साना मात्रै जहाज बस्ने हुँदा भाडा पनि महंगो हुने र सामान्य मौसममा पनि अवतरण गर्न नसक्ने हुँदा त्यसलाई विस्तार गर्न अपरिहार्य रहेको नेकपा माओवादी केन्द्र दाङका सहइन्चार्ज रामबहादुर दहितले बताए । इन्धन डिपो पनि स्थापना भएको अबस्थामा यसलाई विस्तार गरि १५ सय मिटर बनाउन पहल गर्नुपर्ने बताए । त्यसकालागि केन्द्रले बजेट बिनियोजन गर्नुपर्ने उनको भनाई थियो ।


त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले उपमहानगरपालिकाबाट पहल भइरहेको बताए । त्यसकाागि उपप्रमुख स्यानी चौधरीलाई जिम्मेवारी दिएको बताउनुभयो । उपमहानगरको ३२ औं स्थापना दिवसका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य दिपक गिरीले विमानस्थल विस्तारकालागि आफूले पहल गरिरहेको बताए ।

त्यस अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने वडा, कर्मचारी, जग्गादता, समाजसेवीलगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रमलाई उपमेयर स्यानी चौधरी,नेपाली काँग्रेसका नगर सभापति सुरेश हमाल,एमालेका सचिव रूपबहादुर खत्रीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।