नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न संस्थागत विद्यालयहरुलाई राप्ती गाउँपालिकाको आग्रह

तुल बहादुर कवँर मगर
देउखुरी, ३० चैत ।
दाङ, देउखुरीको राप्ती गाउँपालिकाले गाउँपालिका अन्तर्गतका संस्थागत विद्यालयहरुलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको छ । गाउँपालिकाको गाउँ शिक्षा समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १५४ (१) मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको गाउँपालिकाले स्मरण गराएको छ ।

गाउँपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरुको नाम यो व्यवस्थाको प्रतिकुल देखिएकाले यस्तो निर्णय गरिएको शिक्षा शाखा प्रमुख विश्वास विकले जानकारी दिनुभयो ।


विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर तीन महिनाभित्र गाउँपालिकाको शिक्षा शाखामा निवेदन दिन समेत बैठकले आग्रह गरेको छ ।

त्यस्तै बैठकले गाउँपालिका अन्तर्गतका चार सामुदायिक र तीन संस्थागत गरि सात विद्यालयलाई कक्षा थपको अनुमति प्रदान गर्ने निर्णय गरेका छ। यसैबीच शुक्रबार नै बसेको गाउँ कार्यपालिकाको बैठकले शिक्षा समितिले गरेका निर्णहरुलाई अनुमोदन समेत गरेको छ।