लुम्बिनीका मुख्यमन्त्रीको शपथ आइतबार हुने

दाङ, २३ चैत । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराको शपथ ग्रहण आइतबार हुने भएको छ। प्रदेश प्रमुखको कार्यालयमा दिउँसो एक बजे शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ।

आइतबार नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने योजना मुख्यमन्त्री महराले बनाएका छन् । पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउनेगरी दलहरूको बीचमा लिखित सहमति भएको खुलेको छ।


जसपालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयसहित सहरी विकास तथा पर्यटन मन्त्रालयको नेतृत्व दिनेसम्मको सहमति भएको छ। यसका साथै मुख्यमन्त्री बनाउन समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउन मन्त्रालय दिने योजना पनि छ।

लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित दशवटा मन्त्रालय छन्। तर, मन्त्रालयको संख्या १२ सम्म र्पुयाउने र बाँकी रहेका दलहरुलाई पनि सरकारमा सहभागी गराउने जोड देखिन्छ । एमालेलाई चार, माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित तीन र बाँकी अन्य मन्त्रालय साना राजनितिक दललाई दिनेगरी तयारी गरेको बताइएको छ।