लुम्बिनीमा महरालाई मुख्यमन्त्री बनाउने सहमति

दाङ,२२ चैत । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तापक्ष दल सहमत भएका छन् ।

एमाले, जनता समाजवादी पार्टी, नेकपा(एकीकृत समाजवादी) र स्वतन्त्र सांसद खड्क बहादुर बस्नेतले पाँच बुदे सहमति गर्दै महरालाई मुख्यमन्त्री बनाउन सहमत भएका हुन् । लुम्बिनीमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने केन्द्रको सहमति अनुसार प्रदेश सरकार निर्माणकालागि कसरत भइरहेको छ । ८७ सांसद रहेको लुम्बिनीमा बहुमतकालागि ४४ सांसद चाहिन्छ । लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १०(सभामुख बाहेक), जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादीका एक जना र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता महरा, एमाले सुंसदीय दलका नेता लिला गिरी, जसपाका दलनेता भण्डारीलाल अहिर, एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद बस्नेतले हस्ताक्षर गरि ५ बुँदे समझदारी समेत बनेको हो ।


सहमति अनुसार राजनीतिक नियुक्तीहरु सरकारमा सहभागि सबै दलहरुको अपनत्व हुने गरि गर्नुपर्ने, प्रदेशका गौरवका योजनाहरु, प्रदेश राजधानीको निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश प्राबिधिक विश्व विद्यालय, प्रदेश प्रहरी समायोजन र स्थानीय सेवा ऐन निर्माण गर्दा साझा प्राथमिकताका रुपमा कार्यान्व्यन गर्ने, प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माणलगायतमा सबै दलहरुको अपनत्व हुने गरि गर्ने सहमति भएको हो ।