उपमहानगरपालिकाको एउटा गाउँ : जहाँ पुग्दैनन् जनप्रतिनिधि

दीपक बोहरा
दाङ, १७ कात्तिक ।
कुनै समय राजाले राज्य गरेको ठाउँ हो, खुमखानी । बाइसे–चौविसे राज्य भुरेटाकुरे राजाहरुले राज गरेको ईतिहाँस खुमखानीमा छ । त्यहाँका बुढापाका ओपबहादुर थापाका अनुसार वारी खुमखानी राजा र पारी छिल्लीकोटे राजा बस्थे । ती दुई राजाबीच वारिपारी लडाई हुन्थ्यो । वारीबाट खुमखानी राजाका सिपाहीहरुले गोली बर्साउथे, भने पारीबाट छिल्लीकोटे राजाहरुले गोली बर्साउने गरेको इतिहास छ । त्यसका केही केही अबशेषहरु अहिले पनि भेटिने गरेको ६५ बर्षीय थापाले बताए । त्यहाँ केही आकर्षक ढुंगाहरु भएको स्थान भेटिन्छ, जसलाई ‘हनुमान ढोका’ भन्ने गरिएको उनको भनाई छ । हनुमान ढोका भन्दा तल ठूलो बन छ । त्यो बनलाई ‘टुँडीखेल’ भनिन्छ । जहाँ राजाहरुका सिपाहीहरुले कवाज खेल्ने ठाउँका रुपमा थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मा पर्ने त्यो ठाउ एतिहासिक मात्रै होईन, पर्यटनका हिसाबले पनि उत्तम ठाउँ छ । अग्ला डाँडाकाँडा भएकाले जिल्लाका सबै भु–भागसहित रुकुम, रोल्पा, सल्यान, प्यूठानसहित भारतका केही ठाउँहरु पनि देखिन्छ । तर, त्यो ठाउँका नागरिकले आफुहरु दाङवासी भएको महसुस भने गर्न नपाएको गुनासो गरेका छन् । “हामीहरु दाङवासी हौं, जस्तो पनि लाग्दैन”, स्थानीय फत्तबहादुर थापाले भने “दाङ भनेको घोराही, तुलसीपुर नै हुन की जस्तो लाग्छ ।”

तुलसीपुर बजारबाट खुमखानी हेर्दा आकर्षक पनि देखिन्छ । तर, त्यहाँको बास्तबिकता भने फरक छ । त्यो गाउँ, जहाँ टिनको घर कस्तो हुन्छ, भन्ने कुराको अनुभूति गर्न पाएका छैनन् । सबैका घर खरले छाएका छन् । अहिले करिब त्यहाँ ३७ घर छन् । आर्थिक अबस्था कम्जोर हुनुकासाथै घरलाई छाउने टिन ल्याउनकालागि सडक सञ्जाल विस्तार नभएकाले पनि खरले छाउने गरेको स्थानीयको भनाई छ । त्यहाँ पहिले त्यहाँ ६०÷६५ घर थिए । तर, अलिकति जीवन स्तर सुध्रियो भने त्यहाँबाट बजार तिर बसाई सरिहाल्ने गरेको स्थानीय अमरबहादुर घर्तीले बताए । “पहिले यहाँ ६०/६५ घर थियो”, उनले भने “तर, यहाँको दुःख देखेर अहिले अलिकति हुनेखाने भएपछि बजारतिर झरिहाल्छन्, अहिले हामीहरु त्यहा ३७ घरको हाराहारीमा छौं ।”

उपमहानगरपालिका भएपनि त्यहाँ सडक सञ्जाल अझै जोडिन सकेको अबस्था छैन् । सडक सञ्जालले नजोडिदा त्यहाँका नागरिक बजार आउनु परेमा करिब तीन घण्टा हिड्नु पर्छ । सडक सञ्जाल कहिले जोडिन्छ, भन्ने पनि टुंगो नभएको स्थानीय फत्तबहादुर थापाले बताए । “ हामीले सडक विस्तारकालागि पटक–पटक सरकारलाई झक्झक्याएका छौं, तर, आवाज सुनुवाई भएको छैन्” उनले भने “ यो एउटा यस्तो बस्ति हो, अहिलेसम्म राष्ट्रिय स्तरका जनप्रतिनिधि त, के स्थानीय सरकारका प्रतिनिधि पनि पुग्नु भएको छैन । राष्ट्रिय स्तरका नेताको पहुँच नभएकाले पनि होला, अहिले त्यहाँ सडक सञ्जाल मात्रै होईन्, अन्य विकास निर्माणका हिसाबले पनि निकै पछि परेको छ ।”


गएको बर्ष त्यहाँ सडकको ट्रयाक खोल्नकालागि ५० लाख बजेट परेको भएपनि त्यो बजेट अन्तै सारिएको समेत उनको गुनासो थियो । सल्यानको सीमानामा पर्ने त्यो ठाउँमा कपुरकोटबाट सडक आउछ, की भन्ने अपेक्षा रहेको थापाले बताए । सडक सञ्जाल आएपछि त्यहाँको जीवनस्तर सुधार हुने उनको भनाई छ । अहिले प्रत्येक घरमा ५० देखि १००सम्म बाख्रा पालन गरिएको भन्दै त्यसलाई बजारमा लैजान पनि सडक अपरिहार्य रहेको उनले बताए ।

खुमखानीमा अझै विद्युत पनि पुग्न सकेको छ्रैन् । अहिले सोलार प्रयोग गर्ने गरिएको स्थानीय छबि बिकले बताए । खानेपानीको भने सहज पहुँच पुगेको छ । सोलारको प्रयोग गरि खानेपानीको लिफ्टिङ गरेर खोलाबाट पानी ल्याएपछि सहज भएको उनले बताए । यस अघि घण्टौं हिडेर पानी ल्याउनु पर्ने बाध्यता रहेको थियो । अहिले त्यहाँ शिक्षाका हिसाबले भने नाजुक छ । कक्षा ५ सम्म मात्रै पढाई हुन्छ । त्यसपछि कक्षा ६ देखि माथि पढ्नकालागि तीन घण्टा हिडेर बजार पुग्नु पर्ने अबस्था रहेको बिकको भनाई छ ।“कि त बजार कोठा भाडामा लिएर पढ्नु प¥यो, हाम्रो जीवनस्तर पनि नाजुक भएकाले त्यो पनि सम्भव छैन”, उनले भने “घरबाट हिडेर पनि त्यहाँ पढाई भ्याउने अबस्था छैन् ।”
यसले गर्दा पनि विद्यार्थीले पढाईलाई निरन्तरता दिन सकिरहेको अबस्था नभएको उनको भनाई छ । अहिलेसम्म त्यो गाउँका ६ जनाले मात्रै कक्षा १० सम्म पढेका छन् । उनीहरु त्यो भन्दा माथिल्लो कक्षा पढ्न समेत सकेका छैनन् ।

खुमखानी गाउँ स्वास्थ्यका हिसाबले समेत पछाडी परेको छ । “गाउँमा सामान्य उपचार पनि हुँदैन् । सिटामोल किन्नु प¥यो भनेपनि बजार नै झर्नुपर्छ ”, स्थानीय कुलविर बिकले भन्नुभयो“ सामान्य घाउ चोटपटक लाग्यो भने बजार नै पुग्नु पर्छ । सडक सञ्जाल पनि प्रभाबकारी नभएकाले विरामी पनि बोक्न पनि समस्या छ । अहिले विरामीलाई डोकोमा बोकेर बजार पु¥याउनु पर्ने अबस्था रहेको छ ।” कतिको त उपचारकालागि ल्याउने क्रममा बाटोमै मृत्यु हुने अबस्था रहेको समेत उहाँको भनाई छ । त्यहाँ मगर र दलित बस्ति छ । त्यो गाउँमा तीन वटा टोल छन् । त्यहाँको मुख्य पेशा भनेको बाख्रा पाल्ने, घाँस, दाउरा गर्ने, डोको बुन्ने नै रहेको छ । युवाहरु भने प्रायः विदेश जाने गरेका छन् । साभार : अग्रिम साप्ताहिक