तुलसीपुरमा तरकारी बेच्न परिचयपत्र अनिवार्य

तुलसीपुर,१३ वैशाख ।
तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु विक्री वितरणकालागि परिचयपत्र अनिवार्य गरेको छ । स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणकालागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो ।

स्थानीय उत्पादनलाई विक्री वितरण गर्ने लक्ष्य अनुरुप यो कार्य अगाडी बढाईएको उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताउनुभयो ।“अहिले बजारमा भारतबाट आएको तरकारी र बाहिरबाट आएका ब्यापारीहरुको बर्चश्व रहने गरेको छ”,उहाँले भन्नुभयो“त्यसले गर्दा स्थानीय उत्पादनले बजार पाउन सकेको छैन्, यसलाई मध्यनजर गरि परिचयपत्र लागु गरेका हौं ।”


तुलसीपुरका १९ वटै वडाले सम्बन्धित वडाका किसानलाई सूचिकृत गर्न आह्वान गरेका छन् । किसानहरुलाई परिचयपत्र वितरण गरिएसंगै बिहान ४ देखि ८ बजेसम्म तुलसीपुर बजारमा तरकारी बेच्न पाउने भएका छन् । तर, परिचय पत्र नभएकालाई विक्री वितरण गर्न दिइनेछैन ।

कृषिजन्य वस्तुको बिक्री वितरणकालागि वडा नं. १२ मा हाट बजारको व्यवस्था गर्न लागिएको छ ।