घोडाले धानेको जीवन

टेकराज भण्डारी
दाङ, २८ फागुन ।
मानिस र घोडा बीचको सम्बन्ध परा पूर्वक कालदेखि रहँदै आएको छ । बिगतमा अहिले जस्तो बाटो र सवारी साधन थिएनन् । जतिखेर घोडाहरू नै आवात जावात गर्ने र सामान ओसार पसार गर्ने प्रमुख माध्यम थिए ।
आजपनि गाउँ घरका किसानले घोडाको प्रयोग उत्तिकै रूपमा गर्दै आएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलगनारका सोनुराज चौधरीले २०५४ सालदेखि घोडाको संगत गर्दै आएका छन् । यो उनको पुर्खेउली पेशा हो । सोनुराजको बाउ बाजेले पनि घोडा लाद्ने काम गर्थे ।

आसपासका गाउँघरबाट चामल, मकै, मसुरो केही सस्तोमा किनेर ल्याउने र त्यसलाई घोडाबाट तुलसीपुर बजारमा पु¥याइ बेचेर सोनुले आफ्नो घर खर्च चलाउँदै अएका छन् । घोडा लादेरै परिवारको खर्च धान्ने मात्र होईन् सोनुले अहिलेसम्म ३५ कठ्ठा जग्गा जोड्न सफल भएको सोनु बताए ।

गल्ला अर्थात चामल, मकै, मसुरो खोज्न घोडा लद्दीहरू टाढा–टाढा पुग्छन् । दैनिक ३०/६० किलोमिटर सम्म यात्रा गर्छन् । सोनुको घर बेलगनारदेखि तुलसीपुर बजारको दुरी झन्डै १३ किलोमिटर छ ।


तुलसीपुर ११ का नोखीराम बस्नेतले पनि बिगत ५० वर्षदेखि घोडा पाल्दै र घोडा लाद्दै आएका छन् । आधुनिक सवारी साधन र मेसिनको प्रयोग बढेपछि अब घोडा ब्यबसाय संकटमा पर्ने खतरा छ । त्यसमा पनि राज्यले अन्य पशु सरह घोडालाई असमान ब्यबहार गरेको प्रति भने बस्नेतको चित्त दुखाइ छ । अन्य पशु सरह घोडाको पनि बिमाको व्यवस्था हुनुपर्ने बस्नेतको माग छ ।

किसानको पिरमर्का बुझेरै पशु स्वास्थ्य तालिम केन्द्रले विगत पाँच वर्षदेखि तुलसीपुर क्षेत्रमा किसानले पाल्दै आएका घोडालाई टिटानस बिरुद्धको खोप लगाउँदै आएको छ ।

केन्द्रका जिल्ला संयोजक रमन मिश्रले किसानले पालेका र ईट्टा भट्टामा प्रयोग गरिएका घोडाहरूलाई मध्यनजर गर्दै टिटानस विरुद्धको भ्याक्सिन लगाउनुका साथै जुकाको औषधी पनि खुवाउँदै आएको बताए ।
तुलसीपुरमा मात्रै दुई महिला र पाँच पुरुष गरि सातवटा घोडा पालक समुहहरू छन् ।

तुलसीपुर क्षेत्र मा मात्रै किसानले करिव १३० वटा जति घोडा पालेका छन् । त्यो बाहेक ईट्टा भट्टामा काम गर्न ल्याइएका शिजनल घोडाहरू ५० देखि ६० वटासम्म रहेका छन् । अहिले पशुसेवा शाखा मार्फत कुन वडामा कति र कस्ता पशुहरू छन भन्ने विवरण संकलन गर्ने गरिन्छ । साभारः अग्रिम साप्ताहिक