तुल बहादुर कवँर मगर
देउखुरी, २८फागुन ।
दाङ देउखुरीको गढवा गाउँपालिकाले स्थापना दिवसको अवसरमा आयोजना गरेको दोस्रो गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधि राप्ती गाउँपालिकाले जितेको छ ।
आईतवार जनता माध्यमिक विद्यालय गढवाको खेलमैदानमा भएको फाइनल खेलमा लमही नगरपालिकालाई ५–१ को फराकिलो गोल अन्तरले हराउँदै राप्ती गाउँपालिकाले उपाधि जितेको हो ।
राप्ती गाउँपालिकालाई जित दिलाउन वडा नं.३ का वडा अध्यक्ष तथा टिम क्याप्टेन उमेश अधिकारी सहित राजेश चौधरी र लक्ष्मण चौधरीले १र१ गोल गर्नु भएको थियो भने शोभाराम चौधरीले २ गोल गर्नु भएको थियो।
विजेता टिमले ट्रफि,मेडल,प्रमाणपत्र सहित नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। त्यस्तै उत्कृष्ट खेलाडीको रुपमा राप्ती गाउँपालिकाका शोभाराम चौधरी सम्मानित हुनु भएको छ। खेल अवधिभर रेफ्रीको भूमिकामा एन्फा रेफ्री देव नारायण दाहाल,मोहन गौतम र आदित्य केसी रहनु भएको थियो ।
गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा गत फागुन २२ गतेदेखि गाउँपालिका स्तरीय,वडा स्तरीय ,विद्यालय स्तरीय र विभिन्न संघसंस्थाहरु बीच महिला तथा पुरुष फुटबल,भलिबल,क्रिकेट लगायत विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्दै आएको थियो ।
यसैबीच खेलकुद प्रतियोगिताको आइतबार गढवा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा समापन गरिएको छ।
लाइभदाङ । २८ फाल्गुन २०८०, सोमबार १०:२८ बजे