वैदेशिक रोजगारीबाट आएको पैसालाई सहि ठाउँमा सदुपयोग गरौँ : उपप्रमुख योगी

दाङ, २८ फागुन ।
लमही नगरपालिका– ७ नयाँ वस्तीमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुका परिवारका लागि वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा आइतबार एक कार्यक्रमका बिच समापन भएको छ ।

लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले मानिस समय अनुसार चल्न सक्नु पर्ने बताउनु भयो । सुखमा मात्तिने र दुस्ख पर्यो भन्दैमा आत्तिनु नहुने भन्दै वैदेशिक रोजगारीमा गएका व्यक्तिले पठाएको रकम सहि ठाउँमा सदुपयोग गर्न सबैलाई आग्रह गर्नु भएको छ ।

वैदेशिक रोजगारीले परिवारमा ठुलो समस्या निम्तिएको प्रशस्तै उदाहरण भएको उपप्रमुख योगीले बताउनु भयो । कतिपयका घरबार छिन्नभिन्न भएका छ, बालबालिका टुहुरा भएका हामीले देखेका छौं, त्यस कारण यी कुराहरुमा सबैको चासो चिन्ता हुन जरुरी छ’ उहाँले भन्नू भयो ।

सहभागी शान्ता चौधरीले यो कार्यक्रम अत्यन्तै उपयोगी रहेको भन्दै आगामी दिनमा यस्तै कार्यक्रमको अपेक्षा गरेको बताउनु भयो । मानसिक तनाबले ग्रस्त भएको समाजलाई सकारात्मक बाटोमा हिड्न यो कार्यक्रमले मद्धत गर्ने बताउनु भयो ।


बचत गरेर मात्र खर्च गर्नु पर्छ, काम गर्दा योजना बनाएर मात्र काम गर्दा सफलता पाइने, घर परिवारलाई कसरी खुशी बनाउन सकिन्छ, दैनिकी खर्चको कसरी व्यवस्थापन गर्ने भन्ने कुराको राम्रो ज्ञान प्राप्त गरेको सावित्री घर्तीले बताउनु भयो ।

तालिममा २३ जना महिलाहरुको सहभागिता रहेको थियो । वित्तीय साक्षरता सहजकर्ता मीना बस्नेत र मनोसामाजिक परामर्शकर्ता निमा भट्टराईले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा लमही नगरपालिका प्रशासन शाखा प्रमुख तथा सामी कार्यक्रमका फोकल पर्सन महेश थापा ठेंडीले कार्यक्रमलाई कार्यान्वयन गर्न आफुहरु तत्पर रहेको बताउनु भयो । वडा सदस्य देवा परियार, सुनमाली सुनार, उर्मिला चौधरी, योजना शाखा प्रमुख सुनिता पोखरेल लगायतको उपस्थित रहेको थियो ।

लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीको अध्यक्षतामा भएको समापन कार्यक्रमको सहजीकरण वित्तीय साक्षरता सहजकर्ता मीना बस्नेतले गर्नु भएको थियो । गत भदौ २४ गतेबाट शुरु भएको तालिमको आज फाल्गुन २७ गते समापन भएको हो ।