राप्तीका १५ हजार बढी बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप लगाउन सुरु

तुल बहादुर कवँर मगर
देउखुरी, १३ फागुन ।
दाङ देउखुरीको राप्ती गाउँपालिकामा आजबाट १५ हजार ३ सय ८८ जना बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

जन्मेको ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई सो खोप लगाउन सुरु गरिएको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिनुभयो ।

यस वर्ष गाउँपालिकाले विभिन्न वडामा रहेका स्वास्थ्य संस्था ,सामुदायिक र संस्थागत विद्यालय गरि ५२ वटा खोप केन्द्र निर्धारण गरि अभियान सञ्चालन गरेको शाखा प्रमुख रावतले जानकारी दिनुभयो । खोप अभियान फागुन १३ गते अर्थात आज देखि फागुन २५ गते सम्म सञ्चालन हुने बताइएको छ।


यसैबीच राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चौधरीले संयुक्तरूपमा स्वास्थ्यकर्मीहरु लाई भ्याक्सिन क्यारियर प्रदान गरि खोप अभियानको उद्घाटन गर्नु भएको छ।

गाउँपालिकाका अध्यक्ष विष्टले जन्मेको ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरु कोही पनि नछुट्ने गरि अनिवार्य खोप लगाई आफ्नो बालबालिकाहरु लाई निरोगी बनाई अभियानलाई सफल पार्न सम्पूर्ण गाउँपालिका बासीहरुलाई आग्रह समेत गर्नुभएको छ।