तुलसीपुर महोत्सवमा दिन प्रतिदिन उर्लदो जनसागर

शरद रेग्मी
तुलसीपुर, ६ फागुन ।
तुलसीपुर महोत्सव–२०८० मा शनिवार ४० हजारबढी दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । विदाको दिन त्यसमाथि चर्चित कलाकारहरुको प्रस्तुति हुने भएकोले दर्शकको उल्लेख्य उपस्थिति रहेको मेला मूल आयोजक समितिका संयोजक तथा आयोजक संस्था तुलसीपुर उवासंघका अध्यक्ष रामप्रसाद चालिसेले जानकारी दिनुभयो ।

शनिवार दर्शकले स्थानीय कलाकारसँगै टेलिचलचित्र ‘मेरी बास्सै’बाट दर्शकको मन जित्न सफल भएका कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस)र कुञ्जना घिमिरे (सुन्तली)को प्रस्तुतिमा बेलुका ७ बजेसम्मै रमाइरहे । कलाकारितामा धेरै दर्शकमाझ लोकप्रिय बनेको यो जोडीले केही समय कलाकारितालाई थाति राख्दै समाज सेवामा समर्पित भएको थियो ।अहिले पुनः कलाकारितामा फर्किएको यो जोडी शनिवार महोत्सवमा प्रस्तुति दिन आउने भएपछि महोत्सवमा दर्शक उर्लिएका हुन् ।

आफ्नो प्रस्तुतिमा समग्र देश विकासको गति, सफल नेतृत्वकर्ता नहुँदा युवापुस्ता विदेशिनुपर्ने बाध्यता, बेलाबेलामा आइरहने काण्डसँगै दाङको फोरलेन, एयरपार्ट र अन्य विकास निर्माणका विषयमा व्यङ्ग्यात्मक अभिनय र आवाज दिएर धुर्मुस र सुन्तलिले दंगाली दर्शकको अपार माया पाए ।


आज आइतवार पनि महोत्सवमा उल्लेख्य दर्शकको उपस्थिति हुने महोत्सवका सांस्कृतिक संयोजक रुपबहादुर खत्रीले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘आइतवार पनि हाल चर्चामा रहेका तथा दाङबाट केन्द्रमा प्रतिनिधित्व गरिरहेका कलाकारहरु ल्याउन थालेका छौं । त्यसैले पनि दर्शक उपस्थित हुनेमा ढुक्क छौं ।’ आज गोविन्द मधुर, कोमल वली र कमल गाउँलेको प्रस्तुति रहने महोत्सवमा आज मुख्य कलाकारको रुपमा गायक तथा मोडेल चक्र बम आउने भएका छन् ।

त्यस्तै ‘एक दिन उज्यालो छाउला, मेरो पनि दिन आउला’ भर्खरै अत्यन्तै चर्चित गित दिन सफल भएका दंगालीका सान गायक गोविन्द मधुर आचार्य, कलाकारिता ख्याति कमाउन सफल पूर्व राष्ट्रियसभा सदस्य दाङकै छोरी कोमल वली र हाँस्य व्यङ्ग्यमा धेरै दर्शकमाझ रुचाइएका दंगाली कलाकार कमल गाउँलेको प्रस्तुति रहनेछ । साथमा कलाकारहरु गायिका रुपा घर्ती मगर र गायक प्रेम शर्माको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।