तार हटाउन केवलले चासो नदिएपछि विद्युतको ध्यानाकर्षण

दीपक बोहरा,
तुलसीपुर,१३ चैत ।
तुलसीपुरका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले अब्यबस्थित तारहरु नहटाएपछि विद्युत कार्यालय तुलसीपुरले ध्यानाकर्षण गराएको छ । नेपाल टेलिकमसहित १२ वटा सेवा प्रदायक कम्पनीको कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको हो ।

तारहरु नहटाउँदा बजार कुरुप बनेको भन्दै त्यसलाई हटाउनकालागि १५ दिने सूचना पनि जारी गरेको विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञानप्रसाद फर्सालले बताउनुभयो । तर, पनि सन्तोषजनक काम नभएको भन्दै कार्यालयमै पुगेर ध्यानाकर्षण गराएको बताउनुभयो ।“सूचना जारी गरेको १५ दिन हुनै लागेको छ, हामीले चिठी पनि पठाएका थियौं”,उहाँले भन्नुभयो“कार्यालयमा पुग्दा कसैले त्यो पत्र समेत खोल्नु भएको अबस्था छैन ।”


अहिले बजारमा पुराना केवल लाईन छन् । कुनै घरमा नेट हटाएमा तार त्यही छोड्ने जस्ता कुराले गर्दा तारहरु अब्यबस्थित छन् । त्यसले गर्दा पनि बजार कुरुप रहेकाले आफ्ना तार आफै हटाउन भनि कम्पनीसंग सहमति भएको थियो । त्यही अनुसार काम गर्ने भनि कार्यालयले चिठि पठाएको भएपनि सोही अनुरुप काम नभएको पाईएको उहाँले बताउनुभयो । कार्यालयमा पुगेर ध्यानाकर्षण गराए पश्चात केबल नेट हटाउने प्रतिबद्धता समेत ब्यक्त गरेको भन्दै केही दिनमा हटिसक्ने प्रमुख फर्सालको भनाई थियो ।

तुलसीपुर क्षेत्रमा नेपाल टेलिकम, एनसिएललगायत १२ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीसंग समन्वय गरेर काम लाग्नेहरुलाई एकठाउँमा बाँध्ने र लामो समयदेखि काम नलाग्ने अबस्थामा रहेका तारहरुलाई निकाल्ने भनि सहमति भएको थियो । यस अघि नेट विग्रिने, पोल ढल्ने हुँदा मात्रै तारहरु हेर्ने चलन थियो । त्यस्तै घरमा नेट बन्द गरेपनि त्यो तार त्यही पोलमा छोड्ने कार्य हुन्थ्यो । त्यसले गर्दा पनि बजार कुरुप बन्दै गएको उहाँले बताउनुभयो ।