आफ्नै देशमा स्वरोजगार बनौं : नगर प्रमुख चौधरी

दाङ, १५ माघ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सकेसम्म स्वदेशमै बसेर स्वरोजगार बन्नु पर्ने बताउनु भयो । “पालिकाले थुप्रै सीपमूलक तालिमको आयोजना गर्दै आएको छ, कृषि, पशुपालन, उद्यम जस्ता क्षेत्रमा लगानी गरेको छ, ती तालिम लिने र आफ्नै व्यवसाय गर्नुस” नगर प्रमुख चौधरीले भन्नू भयो ।

वैदेशिक रोजगारीबाट स्वदेश फर्केका व्यक्तिहरूका संजालको क्षमता विकास सम्बन्धि आयोजना गरेको दुई दिने कार्यक्रमको समापनका क्रममा प्रमुख चौधरीले सो कुरा बताउनु भएको हो ।

लमही नगरपालिकाद्वारा स्थापना गरेको आप्रवासी स्रोत उपकेन्द्रले अन्य तीनवटा पालिकाका जनतालाई समेत सेवा दिएको बताउनु भयो । हरेक वडाबाट सूचना संकलन गरेर नगरपालिकामा जानकारी गराउन आज गठित संजाललाई निर्देशन दिनु भयो । वैदेशिक रोजगारका सवालमा सकेजति जनतालाई सेवा दिनु पर्ने कुरामा सबैको ध्यान जान जरुरी रहेको बताउनु भयो ।


लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले वैदेशिक रोजगारमा जान चाहानेहरुलाई राम्रो परामर्श दिने कुरामा विश्वास व्यक्त गर्नु भयो । नगरपालिकामा गठन भएको संजाललाई बलियो गराउनका लागि नगरपालिका सहयोग रहने उपप्रमुख योगीको भनाई छ । नगरपालिकाको आन्तरिक स्रोतबाट संजाललाई निरंतरता दिने भन्दै संजालमा रहेका पदाधिकारीलाई जोश जांगरका साथ काम गर्न निर्देशन दिनु भयो ।

नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण लमही नगरपालिकाकि मनोसामाजिक परामर्श कर्ता निमा भट्टराईले गर्नु भएको थियो ।

नगरपालिका स्तरीय श्रमिक संजाल गठन
लमही नगरपालिका स्तरीय आप्रवासी श्रमिक संजाल गठन भएको छ । जसकाे अध्यक्षमा पहल सिंह पुन, उपाध्यक्षमा सिमा चौधरी, कोषाध्यक्षमा मदन कुमार श्रेष्ठ, सचिवमा दोर्ण बहादुर अधिकारी, सहसचिवमा राजकुमार चौधरी चयन हुनु भएको छ । त्यस्तै राजेश कुमार चौधरी, भानु सुनार, विश्वमणी चौधरी, दीपक कुमार चौधरी, बलिराम चौधरी, प्रेरणा पछाई, किसमान चौधरी र विनोद चौधरी सदस्यमा रहनु भएको छ ।