पुस २४ गतेदेखि नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

प्रिया स्मृती गजमेर
दाङ, १४ पुष । लमही नगरपालिकाले यो वर्ष गरिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बारेमा नगरपालिका भित्र रहेका निजि तथा सामुदायिक विद्यालयसंग छलफल गरिएको छ । छलफलले यहि पुस २४ देखि २७ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

यो वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लमही नगरपालिकाले नै आयोजना गर्ने र लमही नगरपालिका -६ स्थित सिसौ बगरमा गरिने भएको छ ।

छलफलमा बोल्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले राष्ट्रपति रनिङ शिल्डले राम्रा खेलाडी उत्पादन गर्ने कुरामा आफू विश्वस्त भएको बताउनु भयो । खेल र खेलाडीले पनि विश्वमा देशको नाम रोशन गराउनमा मद्धत गरेको भन्दै समग्र देशको विकासमा खेल र खेलकुदको अहम भूमिका हुने बताउनु भयो ।

खेलकुद प्रतियोगिताबाट प्राप्त हुने हार र जितलाई सहर्ष स्विकार गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो । प्रतियोगितामा हार भएसी अराजक गतिविधि गर्ने जुनसुकै विद्यालयलाई कानूनी कारबाही गरिने प्रमुख चौधरीले बताउनु भयो ।

लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले खेलकुदले मानव स्वास्थमा धेरै परिवर्तन ल्याउने भएकोले खेलकुदलाई प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो । विभिन्न माध्यमबाट खेलिने सबै खेलले मानव शरीरमा थुप्रै किसिमका फाईदा गरिरहेको हुन्छ, तसर्थ खेलकुद जीवनको एक महत्त्वपूर्ण क्षेत्र हो यस्लाई सबैले जोड दिनु पर्छ”- उहाँले भन्नू भयो ।


अघिल्लो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सामान्य विवाद भएको कुरालाई स्मरण गर्दै अब आयोजना गरिने यो कार्यक्रममा त्यस्ता अराजक गतिविधि हुन नदिने साथै कार्यक्रम भव्य र सभ्य रुपमा संचालन गर्नेमा सम्बन्धित विद्यालय र पालिका गम्भीर हुनु पर्ने बताउनु भयो । स-साना कमजोरीका कारण खेलकुद प्रति लगाव भएका विद्यार्थीलाई रोक्न नहुने बताउनु भयो ।

त्यस्तै नमूना आदर्श माध्यामिक विद्यालय देउपुरका प्राचार्य कुलचद्र पौडेलले बालबालिकामा भएको प्रतिभा मापन गराउने थलो खेलकुद भएको बताउनु भयो । राज्यले ल्याएको एक पालिका एक खेल मैदान कार्यक्रमलाई कार्यान्वयन गर्नु पर्ने बताउँदै प्रतिभावान बालबालिकाको पहिचान गरि उनिहरुको मनोबल उच्च राख्नेमा विद्यालय र स्थानीय सरकार लागि पर्ने धारणा राख्नु भयो ।

जिल्ला खेलकुद विकास समिति दाङका कोषाध्यक्ष ध्रुव आचार्यले खेलकुद क्षेत्रमा पनि लगानी लगाउनु पर्ने बताउनु भयो । बाटोघाटो, भौतिक संरचना मात्र बनाएर विकास हुँदैन, देशको विकासका लागि खेलकुदलाई पनि प्राथमिकतामा राख्नु पर्ने कोषाध्यक्ष आचार्यको भनाई छ ।

प्रतियोगिता हुनु पुर्व खेलाडीहरुको दुर्घटना विमा लमही नगरपालिकाले गर्ने भएको छ ।

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा बसेको छलफलको सहजीकरण शिक्षा शाखाका निमित्त प्रमुख भवानी गिरीले गर्नु भएको थियो ।