रुकुममा एउटै घरका दुई बहिनी मृत फेला

रुकुम–पुर्व, २३ चैत ।
रुकुमपुर्वमा एउटै घरका दुई दिदी–बहिनी मृत फेला परेका छन । मृत फेला पर्नेमा पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मा निवासी तारामान बुढाका दुई छोरी ११ वर्षीया रिना बुढामगर र ९ वर्षीया कालिमाया बुढामगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपुर्वका प्रमुख (डीएसपी) अञ्जना श्रेष्ठले जानकारी दिनुभएको छ ।

डीएसपी श्रेष्ठका अनुसार बुधबार साँझ सिस्नो टिप्ने भनी घरबाट निस्किएका दुई दिदी–बहिनी बिहीबार बिहान मृत फेला परेका हुन् । बालिका वेपत्ता भएपछी स्थानीयले खोजी गर्दै जादा बिहीबार बिहान रन्मा गाउँकै भीरमा मृत फेला परेपछि प्रहरीलाई खबर आएको डीएसपी श्रेष्ठले बताउनुभयो ।


घटनाको थप अनुसन्धानका लागि हाल प्रहरी घटना स्थलतर्फ जाँदै गरेको र घटना स्थल पुगी सकेपछी मात्रै थप कुरा भन्न सकिने उहाको भनाई छ । स्थानीयबाट प्राप्त भएको खबर अनुसार दुई बालिकाले लगाएको गरगहना लुटपाट गरी लुटेराले हत्या गरेको हुन सक्ने आशङ्का गरिएको श्रेष्ठले बताउनुभएको छ ।