पञ्चेबाजा संरक्षणमा आमा समूह

तुलसीपुर, २४ पुष ।
कुनै समय विवाह वर्तमा पञ्चेवाजा गुन्जिन्थे । तर, हिजोआज पञ्चेवाजा गुञ्जिन छोडेका छन् । यसरी पञ्चेवाजा लोप हुन थालेपछि स्थानीय स्तरमा महिलाहरू संरक्षणमा जुटेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.४ स्थित जनचेतना आमा समूहले पञ्चेवाजा ल्याएर आफै विवाह,वर्त, पुजाआजामा जने गरेका छन् । दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाईसहित छिल्लर, मादल पनि किनेर ब्यबसायिक रूपमा पञ्चेवाजा संरक्षण अभियानमा लागेको समूहका अध्यक्ष कस्तुरा खड्काले बताईन् ।“पहिले गाउँमा विवाह,वर्त हुँदा पञ्चेवाजा बज्थे”,उनले भनिन् “तर,पछिल्लो समय पञ्चेवाजा बज्न छोडे, त्यसैले हामीले यसलाई संरक्षण गर्नकालागि सुरूवात गरेका हौं ।”

गएको वर्ष भैलो खलेर संकलन भएको एक लाख ४० हजार रकमबाट पञ्चेवाजाका सामग्री खरिद गरेको अध्यक्ष खड्काले बताईन् । सुरूवातमा आफूहरूलाई पञ्चेवाजा पनि बजाउन नजानेको भन्दै सिक्न एक वर्ष लागेको उनकोे भनाई छ ।“कहिले काहीँमात्रै बजाउथ्यौं, विवाह, बर्त भएमा बोलाउनु हुन्थ्यो र जान्थ्यौं”,उनले भनिन् “त्यति गर्दागर्दै सिक्न एक वर्ष लाग्यो ।”

सिकिसकेपछि विवाह,वर्तबन्ध, पुजा, मृत्यु संस्कारजस्ता कुरामा बोलाउने गरेको अध्यक्ष खड्काको भनाई छ । यो वर्षको भैलोमा पनि पञ्चेवाजा प्रयोग गरेको उनको भनाई छ ।


अहिलेसम्म विवाहमा जाँदा १० हजार, पुजामा ५ हजार, मृत्यु संस्कारमा ५ हजार रुपैँया दिने गरेको भएपनि आफैले तोकेर नलिने गरेको उनले बताईन् । अहिलेसम्म पञ्चेवाजाको तोकेर लिने गरिएको छैन । तर, केही समयपछि ‘रेटलिस्ट’ बनाउने आमा समूहले तयारी गरेको छ । सोही आमा समूहमा २५ जना महिला सहभागि छन् ।

फुर्सद अनुसार सबै महिलाहरू गाउँमा परेका अन्य सामाजिक कार्य पनि गर्दै आएको छ । गाउँमा कसैको झैझगडा भएमा त्यो पनि मिलाउने गरेको अध्यक्ष खड्काको भनाई छ ।“गाउँमा झगडा भएमा मिलाईदिनु प¥यो भन्दै आउनु हुन्छ”,उनले भनिन् “त्यस्ता झैझगडा पनि मिलाउने गरेका छौं ।” ति बाहेक अन्य श्रमका काम पनि गर्दैै आएको उनले बताईन् । घरहरूमा पेन्ट लगाउने, विवाहमा खाना खुवाउनेजस्ता कार्य पनि गर्दै आएको छ । सधै चुलोचौकोमा सीमित हुने महिलाहरू पनि सामाजिक रूपमा शसक्त छन्, भन्ने सन्देश दिन आफूहरूले यो कार्य गरेको उनको भनाई छ । साभारः अग्रिम साप्ताहिक