बबई लिफ्टिङकालागि पाइप विस्तार सुरू

दीपक बोहरा
तुलसीपुर, १३ मङसिर ।
दाङको तुलसीपुरमा खानेपानी आपूर्तिकालागि निर्माण हुन लागेको बबई लिफ्टिङ अन्तर्गत पाईप विस्तार सुरु भएको छ । बुधबारदेखि पाईप विस्तार सुरु भएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कार्यबहाक अध्यक्ष सीताराम शर्माले बताउनुभयो ।

उहाँका अनुसार बबई नदीबाट तुलसीपुर बजार ल्याउन लागिएको उक्त पानीकलागि मुख्य लाईनको पाइप विस्तार सुरु भएको हो । त्यहाँबाट टरिगाउँ एयरपोर्ट स्थित ट्याङ्की र तत्कालिन अञ्चाल प्रहरी कार्यालय नजिकको ट्याङ्कीमा पानी ल्याईनेछ । त्यसपछि अन्य सहायक ट्याङ्कीमा पानी वितरण हुने अध्यक्ष शर्माले बताउनुभयो । पाईप विस्तार कार्यको तुलसीपुर १२ का वडाध्यक्ष खुसीराम चौधरीले सिलन्यास गर्नुभएको हो ।

ट्याङ्की निर्माण कार्य अन्तिम चरणमा पुगिसकेकाले पाइप विस्तारको कार्यलाई अघि बढाईएको हो । सल्यानरोड स्थित खानेपानी कार्यालय परिसरमा रहेको ट्याङ्की र बबई नदीमा ट्याङ्की निर्माण भइसकेको छ, भने मोतिपुर, कबर्डहल र एयरपोर्टको ट्याङ्की निर्माण भइरहेको छ ।

सहलगानी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत बबई लिफ्टिङको काम हालसम्म ३५ प्रतिशत काम पूरा भएको छ । ५६ करोड ८० लाख २४ हजार ६ सय ३० रुपैँया लागतमा बबई लिफ्टिङको काम अघि बढेको हो । नेपाल सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ताको ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम बढेको हो ।

जसमा सरकारले ३८ करोड ८३ लाख, १७ हजार २ सय ४१ र उपभोक्ताको १७ करोड ७ लाख ३ सय ८८ रुपैँया लाग्छ । उपभोक्ताको तर्फबाट अहिले ५ प्रतिशत र बाँकी २५ प्रतिशत नगर विकास समितिबाट ऋण ल्याएर काम अघि बढाईएको छ । नगर विकास समितिबाट १४ करोड २२ लाख ५६ हजार १ सय ५८ ऋण लिएको र बाँकी २ करोड ८४ लाख ५१ हजार २ सय ३१ रुपैँया उपभोक्ताले तिरेका छन् ।

तुलसीपुर–अमिलिया सडकको बबई पुलदेखि पूर्वतिर ३ वटा सम्पवेल(इनारजस्तै पानी संकलन गर्ने प्रबिधि) बन्नेछ । त्यसको ३ सय मिटर उत्तरमा ट्रिटमेन्ट प्लान बन्नेछ । जहाँ ¥यापिड स्यान्ड फिल्टर २ वटा सितलपुरमा र मल्टि ग्रेड प्रेसर फिल्टर ६ वटा निर्माण हुनेछन् । मल्टि ग्रेड फिल्टर जहाँ ट्याङ्की निर्माण हुन्छ, त्यही स्थानमा निर्माण हुनेछन् ।


त्यस्तै सीतलपुरमा आरभिटी कलेक्सन चेम्बर ५०० घन मिटर, इन्टर मिडियट आरभिटी टकी संतनिरङकारी नेर ३०० घनमिटर, प्रदेश प्रहरी कार्यालय नजिक इन्टर मिडियट आरभिटि ३०० घन मिटर बन्नेछ ।

त्यस्तै चारवटा ओभरहेड ट्याङकी निर्माण हुनेछन् । शिखर कोलेनीमा ४५० घनमिटर, झुमरेमा ४५० घनमिटर, मोतिपुरमा २२५ घनमिटर, इन्द्रनगरमा ४५० मिटर घनमिटर ओभरहेड टंकी पनि निर्माण हुनेछन् । दुईवटा अन्डर ग्राउन्ड ट्याङ्की निर्माण हुनेछन् । डुम्रीगाउँमा ६०० घनमिटर र खानेपानी कार्यालय परिसरमा ३०० घनमिटर अन्डरग्राउन्ड टंकी निर्माण हुनेछन् ।

त्यस्तै प्रशारण पाईप लाईन २८.३१५ किलोमिटर हुनेछ, भने पानी वितरण पाईप १२५.७५२ किलोमिटर हुनेछ । साथै ७ वटा सुरक्षागार्ड हाउस र १० वटा पम्प हाउस पनि निर्माण हुनेछन् ।

बबई लिफ्टिङबाट डिपबोरिङबाट प्रतिसेकेन्ड ६०/६० लिटर पानी आपूर्ति गर्न सकिनेछ । त्यस्तै ६ वटा डिपबोरिङ निर्माण हुनेछन् । गोलौरा, सन्तनिरंकारी भवन नजिक, खानेपानी संस्थाको कार्यालय परिसर, सीप बिकास कार्यालय नजिक, इन्द्रनगर र पहिलेको संघीय प्रहरी कार्यालय गरि बिभिन्न ६ स्थानमा डिपबोरिङ पनि निर्माण हुनेछन् । जसबाट प्रतिसेकेन्ड ४० लिटर पानी उत्पादन गरिनेछ ।

तुलसीपुर खानेपानीका अहिलेसम्म ८ हजार २ सय २६ धाराहरु रहेका छन् । तर, बबई लिफ्टिङको काम पूरा भएमा पाँच हजार पाँच सय धारा थप हुने छन् । हाल तुलसीपुर खानेपानीका मुलकोट,राम्री,चिसापानी, धैरनी,बाख्रे, छरछरे, पहर र लाहुरेचौर गरि ८ वटा ग्राभेटी मुहान छन् ।

त्यस्तै कार्यालय परिसरमा डिपबोरिङ, डुम्रीगाउँ, रजौरा, एयरपोर्ट, साविक अञ्चल प्रहरी कार्यालय परिसर, खर्चवा, झुमरे, रेडक्रस परिसरमा भूमिगत मुहान स्रोत रहेका छन् । त्यस्तै रानीजरुवा, पातुखोला र रानीघाटमा सम्पवेल मुहान रहेका छन् ।