महोत्सवमा रूपान्तरण भयो‘माघी पर्व’

दीपक बोहरा
दाङ, २४ पुष ।
माघा ना हैली सुअरिक
सिकार खाइली होना
सखि ए हो, माघा के पिइली गुरी गुरी जाँड
सखि ए हो, माघा के पिइली गुरी गुरी जाँड

माघ महिना नजिकिएसंगै माघीको पौरानीक यी गीतहरू थारु समुदायमा गुञ्जिन थालेका छन् । गाउँ–घरमा हुने हरेक कार्यक्रममा थारु पोशाकमा नाचगान हुने गर्छन्, भने अतिथिहरूलाई ढिक्री खुवाउन थालिएको छ । नयाँ वर्षका रूपमा मनाईने माघी पर्वलाई थारु समुदायले धुमधामका साथ मनाउने गर्छन । थारु समुदायले एक हप्तासम्म माघी मनाउने गर्छन् । ‘संस्कार, संकृति, खानपानका हिसाबले थारु समुदाय धनी मानिन्छ’, अधिबक्ता तथा थारु अगुवा रामशरण चौधरीले भने‘ कपडा, खानपान, नाचगानमा केही परिबर्तन भएपनि परम्परागत रुपमा मनाउँदै आएको माघी पर्वमा खासै बदलाप आएको छैन ।’

केही–केही कुरामा भने बदलाप आएको उनले बताए । पहिले माघ १ गते बिहानै मादल बजाउँदै, गीत गाउँदै खोलामा नुहाउँन जाने र घरमा आएर मान्यजनलाई ढोक गर्ने, खाना खाने र नाचगान गर्ने चलन थियो । तर, त्यो कुरालाई नयाँ पुस्ताले खासै चासो दिएको देखिदैन । माघी पर्वकै दिन खाली नुहान गएर घरमा आएर आफू भन्दा ठुलालाई ढोक गर्ने चलन समेत हराउँदै जान थालेको छ ।

माघीको दोस्रो दिन ढकिया भरी चामल तथा तरकारीहरू दिने चलन थियो । तर, अहिले चामल र तरकारीको सट्टा पैसा नै दिने गरिन्छ । विगतमा आफै मादल बजाएर नाच्ने चलन थियो । तर, अहिले ‘उफर’बाट गीत बजाएर नाच्ने चलन बढ्दै गएको छ ।

माघी पर्वमा मुख्य परिकारका रूपमा लिइने श्याम जिरा, सेता धान, गक्या, तिल्की धान, मसुली, सिमचारो धान लोप हुँदै गएका छन् । अहिले प्राय हाइब्रेड धान मात्र प्रयोग हुने गर्छ ।

महोत्सवमा रूपान्तरण भए माघी पर्व
समय अनुसार माघी पर्व मनाउने शैली फेरिँदै जान थालेको हो । विगतमा सानो गाउँको खाली स्थानमा बसेर मनाईएको माघी यतिबेला महोत्सवको रूपमा परिवर्तित हुँदै आएका छन् । केही दिन अघि मात्रै थारु कल्याणकारी सभा दाङको आयोजनामा घोराहीमा माघी महोत्सव भयो ।

दंगीशरण गाउँपालिकाले यही पुस २७ र २८ गते माघी महोत्सव गर्दैछ । विगतदेखि नै यसरी माघी महोत्सवका रुपमा मनाउन थालिएको थारु अगुवा जीवराज चौधरीले बताए ।‘स्थानीय तहमा जनप्रतिनिधिहरू आएपछि वडा–वडामा यसरी माघी महोत्सवहरू हुने गर्छन’,उनले भने‘विभिन्न संघसंस्थाहरूले पनि महोत्सवका रूपमा मनाउने गरेका छन् ।’ महोत्सवका रूपमा मनाउन माघी समुदायको महत्वलाई थप बढाउने उनको भनाई छ । थारु समुदायको कला, संस्कृति, रहनसहन, खानपानलाई सबैले बुझ्नकालागि महोत्सवले भूमिका खेल्ने उनको भनाई छ । परम्परालाई कायमै राख्नको लागि भए पनि नयाँ र थप मनोरञ्जनको तरिकाबाट मनाउनको लागि कामहरु गर्नुपर्ने उनी बताउछन् ।

नयाँ पुस्ताले हरेक कुराहरूलाई बिर्सदै जाने भएकोले पनि संस्कृति जर्गेना गर्नको लागि नयाँपन सहितको शैली आवश्यक रहेको उनको भनाई छ । तर, माघीको पहिचान भने हराउन नहुँने उनको तर्क छ । विगतमा माघीको अवसरमा विभिन्न घाटहरूमा स्नान गर्ने गरिएको भए पनि यो काम विस्तारै हराउँदै गएको छ । घरका वृद्ध व्यक्तिहरू तीर्थस्थलमा गएर नुहाउने इच्छा व्यक्त गरे पनि आजभोली घरमै नुहाउन थालिएको छ । यसप्रति थारु समुदायका अग्रजहरूले दुःख व्यक्त गर्न थालेको उनले बताए ।

माघी बिशेष गरि लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा बसोबास गरिरहेका थारु समुदायले मनाउने गर्छन । थारु समुदायमा अरू बेलाका तुलनामा यो समयमा महिलाहरूलाई विशेष ठान्ने गर्दछन् । प्राय ः यो समयमा महिलाहरूले मिठा भोजन बनाउने भएकोले पनि विशेष महत्वका साथ हेर्ने गरिएको हो ।

माघीको महत्व
माघी पर्व थारुका लागि मात्र होइन अन्य समुदायमा पनि आ–आफ्नो ढंगले मनाउने गरिन्छ । माघ १ गते नेपालको पश्चिम तराईमा विशेष दिनका रूपमा लिने गरिन्छ । तराईका थारु समुदायमा माघी पर्वका नाममा मनाइने यो दिन एक प्रकारले सो समुदायका लागि मुक्तिको दिन जस्तै हो ।

माघे संक्रान्ति सबैको चाड भए पनि यो मूलत ः माघी भनेर थारु समुदायले बडो महत्वका साथ मनाउने गर्छन् । थारु समुदायको यो दिन नव वर्ष पनि हो । थारु समुदायले आफन्त र मान्यजनबाट नयाँ दिनको सुरूवात गर्ने दिनका रूपमा हर्षोउल्लासकासाथ रमाइलो गर्दै मीठा–मीठा खानेकुरा खुवाउने चलन छ । बाह्र संक्रान्तिमध्ये माघे संक्रान्ति हो । माघे संक्रान्ति हाम्रो महत्वपूर्ण पर्व हो । यो सबै जातिको साझा पर्व हो ।


माघीमा थारु समुदायमा जिम्दारको घरमा कमैया बस्ने वा नबस्ने भनेर छिनोफानो गर्ने दिनका रूपमा पहिले व्यापक थियो । कमैया प्रथाको अन्त्यपछि त्यो परम्परा हटेको छ तर निर्मूल भएको छैन । थारु समुदायले कमैया र कम्लरी बस्ने दास व्यवस्थाको दुःखद संस्कारको लामो संघर्षपछि अन्त्य भएको छ ।

सांस्कृतिक संस्कार र पर्वका रूपमा रहेको माघीलाई थारु समुदाायको मुक्ति पर्वका रूपमा लिन थालिएको थारु अगुवाको भनाइ छ । माघ महिनाको प्रथम दिन सूर्य धनुराशीबाट मकर राशिमा प्रवेश गर्छन् । यसलाई तिलुवा संक्रान्ति या मकर संक्रान्ति पनि भनिन्छ । विभिन्न जातीय समुदायले यसलाई विशेष महत्वका साथ मनाउने गर्छन् ।

तिलुवा संक्रान्तिको दिन तिललाई सख्खरमा मिसाएर लड्डु बनाएर खाइन्छ । तिलमा विभिन्न तत्वहरू पाइन्छ । यो दिन घीउ, चाकू तिल, मह, सख्खर, तरुल, सख्खरखण्ड, पिडालु खाने गरिन्छ । माघे संक्रान्ति अर्थात् माघी पुसको अन्तिम दिनदेखि सुरू हुन्छ । थारु समुदायमा पुसको अन्तिम दिनमा गाउँभरीका मानिसहरू मिलेर सुँगुर काट्ने चलन छ । यसलाई ‘जिता मर्ना’ भनिन्छ । र त्यो दिनलाई ‘जिता मर्ना दिन’ भनिन्छ ।

पुस मसान्तमा विभिन्न प्रकारका परिकार (सुँगुरको मासु, ढिक्री, रोटी, माछा आदि) हरू तयार गरिन्छ । र रातभरी नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ । विशेष गरी यस पर्वमा छोक्रा नाच (मघौटा नाच) र ढुम्रु गाउने गरिन्छ ।

माघ १ गते अर्थात् माघीको दिन विहानै भाले बासेको पहिलो प्रहरमा सम्पूर्ण गाउँका मानिसहरू सँगै सामुहिक रूपमा नदीमा नुहाउन जान्छन् । र, घरमा आई आ–आफ्नो दिदीबहिनीहरूलाई उपहार दिने गर्छन् जसलाई ‘निसराउ’ भनिन्छ । त्यसपछि सबै जना सबैसँग गाउँभरी ढोगसलाम गर्छन्, आशिर्वाद थाप्छन् र नाचगान गर्दै रमाउँछन् । वर्षभरीका सुख दुःख का कुराहरू साटासाट गर्छन् । घरपरिवारमा भित्र पनि कामको बाँडफाँड गर्छन् । त्यसैगरी त्यही दिन गाउँका सबै जना जम्मा भएर गाउँको महटावाँ (बरघर) चुन्ने र चौकीदार चुन्ने कार्य हुन्छ ।

गाउँमा कामकाजको बाँडफाँड, गएको वर्षभरीको कामको समीक्षा र नयाँ नीतिनियम बनाउने आदि जस्ता विविध कार्यहरू पनि यही दिन गरिन्छ । वर्षभरी त्यही अनुसार चल्नुपर्ने हुन्छ । अर्थात् लोकतान्त्रिक प्रक्रिया अनुसार विकास निर्माणको काम अगाडि बढाउँछन् ।

थारु समुदाय पनि एउटा यस्तो समुदाय हो जसले समाजमा समाज विकासको विविध कार्यहरू गर्न समाजमा अन्तरघुलित भएर गर्छ । थारु समुदायका मानिसहरुको बसोबासको अवस्था हेर्ने हो भने उनीहरू एकैठाउँमा गुजुमुज्ज पारेर बनाएका हुन्छन् र एकअर्कालाई सहयोग गर्न आतुर हुन्छन् । थारु समुदायको माघी पर्व पनि एउटा यस्तो पर्व हो जसले थारु समुदाय लगायत समग्र समाजको विकासमा महत्वपूर्ण भुमिका खेलेको हुन्छ ।

खासगरी सामुहिक रुपमा मनाउँछन् माघी थारु समुदायले । सामुहिक रूपमा निर्णय गरेर मात्र उनीहरूले कार्यको थालनी गर्छन् । घरको एउटा घरमूली छान्नका लागि पनि छलफल गर्ने गर्छन् । थारु समुदायका मानिसहरूले जानी नजानी भए पनि सामुहिक रूपमा नै काम गरिरहेका हुन्छन् । जसले सामाजिक भावनाको विकास गराइरहेको हुन्छ ।

नेपालको राष्ट्रिय जनगणना वि.सं.२०७८ अनुसार नेपालमा १४२ जातजातिमध्ये थारु जाति जनसंख्याको हिसाबले चौथो स्थानमा रहेको तथ्यांक छ । हाल नेपालकोे कूल जनसंख्याको १८ लाख ७ हजार १ सय २४ जना थारु जाति छन् । थारु समुदायको हकहितको संरक्षण र सम्बद्र्धन तथा थारु समुदायको सशक्तिकरणका लागि नेपालको संविधान २०७२ को धारा २६३ ले थारु आयोग गठनको व्यवस्था गरेकोे छ । साभारः अग्रिम साप्ताहिक