सांसद खनाललाई कानूनका विद्यार्थीको प्रश्नः तपाईहरूले विकास गर्ने हो कि कानून बनाउँने ?

तुलसीपुर, २१ पुष ।
तुलसीपुर मेट्रो कलेज बिएएलएलबी पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थी निशा सुनारले सांसद शिशिर खनाललाई प्रश्न गरिन् “तपाईहरूले एक वर्षमा किन एउटा मात्रै कानून बनाउनु भएको यो तपाईहरूको असफलता होईन” उनले प्रतिप्रश्न पनि गरिन् “तपाईहरुको काम विकास गर्ने हो कि कानून बनाउने भन्ने कुरा बुझ्नुभएको छ ?” सांसद शिशिर खनालले सुनारको प्रश्नबाट लगाएको आरोप स्वीकार गर्दै संघीय संसदले आशा गरे अनुसार कानून निर्माण गर्न नसकेको स्वीकार गरे । उनले सांसदह कानून निर्माणमा केन्द्रीत हुन नसकेको कुरामा सत्यता रहेको बताउँदै जनताले पनि सांसदबाट कानून भन्दा विकास निर्माणको अपेक्षा गरेको बताए ।

“मेरो निर्वाचन क्षेत्रका जनतासँग भेटघाटमा जाँदा तपाईले कस्तो कस्तो कानून बनाउनुभयो , के के बनाउँदै हुनुहुन्छ भन्ने खालको कुरा कहिल्यै पनि सोधिदैन बाटो कहिले कालोपत्रे हुन्छ, नाला कहिले बन्छ ? जस्ता विकासका कुरा मात्रै सोधिने गरिन्छ” सांसद खनालले जनतालाई समेत सांसदको अधिकार क्षेत्रका बारेमा जानकारी नहुँदा उनीहरु कानून निर्माणमा केन्द्रीत नभएको बताए । “हामीले धेरै कानून बनायौ, जनतालाई यसको निकै फाइदा हुन्छ भन्ने आधारमा जनताले भोट नहाल्ने भएको हुँदा पनि सांसदले कानूनको भन्दा पनि विकासको कुरा बोकेर हिड्नु परेको उनको भनाई थियो ।


तुलसीपुर मेट्रो कलेज बिएएलएलबी अध्ययनरत विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रममा पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका खनाललाई विद्यार्थी रन्जना कामीले विद्यार्थीहरु विदेशमा जान वाध्य भएको तथ्य प्रस्तुत गर्दै मन्त्री भएको बेलामा किन सम्बोधन नगरेको भनेर सोधेकी थिइन् । पूर्व मन्त्री खनालले फैलदो विश्वमा विद्यार्थीहरु विदेशमा गएर ज्ञानको दायरा फराकिलो बनाउनु राम्रै कुरा भएको भन्दै नेपालमा असुरक्षित महसुस गरेर विदेश जानु राम्रो नभएको बताए । “विद्यार्थीहरुलाई संसार बुझेर त्यो ज्ञान नेपालमा प्रयोग गर्नका लागि सरकारले योजना बनाउनुपर्दछ ” ।

कानून संकाय संयोजक विजय पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा गैर आवासिय नेपाली संघका पूर्व उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले नेपालमा धेरै सम्भावना भएको भन्दै आफु पनि नेपालमै सम्भावना देखेर फर्किएको कुरामा जोड दिए ।
कार्यक्रममा नगर प्रमुख टिकाराम खड्काले कानूनका विद्यार्थीहरु प्राविधिक हुनुपर्ने बताउँदै हरेक कुरालाई कानून सम्मत ढँगले हेर्नुपर्ने कुरा बताए । कलेज प्रमुख वसन्त आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यार्थीहरुले कानून सम्बन्धि विभिन्न ज्ञिजासा राखेका थिए ।