निकुञ्ज भित्रका बस्तिको पीडाः जनावरले बाली खाईदिन्छन्

मन बहादुर बुढाथोकी
दाङ, १६ पुष ।
बाँके राष्ट्रिय निकुञ्ज भित्रका दाङका बस्तिहरुमा जनावरले सताउने गरेको छ । निकुञ्जको बीचमा बस्ति हुँदा आफूहरूले लगाएको अन्नवाली नष्ट गर्ने गरेको बबई गाउँपालिका वडा नं.१ सिमलकुना निवासी टेकबहादुर बुढाले गुनासो गरे । “वरिपरि निकुञ्जको बस्ति छ, जसले गर्दा हामीले लगाएको बालीनाली जनावरले नष्ट गर्ने गरेको छ”,उनले भने “यसमा सरकारले ध्यान दिनुपर्छ ।” यी क्षेत्रमा मेस जालीको ब्यस्थापन भएमा जनावरले सताउने समस्या न्यून हुने उनको भनाई छ ।

बबई गाउँपालिकाको वडा नं. १ का अधिकांस बस्तिहरू राष्ट्रिय निकुञ्जको बीचमा पर्छन् । बञ्चरे, क्यूरेनी, गौजे, सिमलकुना,जिला, मलै, कप्तानेलगायतका बस्तिहरू राष्ट्रिय निकुञ्जका बीचमा पर्ने गरेका छन् । यी बस्तिहरूमा बर्सेनी जनावरहरूले सताउने गरेको जिला निवासी शोभा पुनले गुनासो गरिन् । यी बस्तिहरू दाङका बिकट मध्येका बस्ति हुन् । जहाँ अहिलेसम्म विद्युत पुग्न सकेको छैन । बीच–बीचमा पर्ने खोलाहरूमा पुल नहुँदा यातायातका साधनहरू पनि सहजै आवतजावत गर्न सक्ने अवस्था छैन । खानेपानीको उस्तै समस्या छ । नजिकै बबई नदी बग्ने भएपनि विद्युत नहुँदा त्यहाँका नागरिकले सिंचाईको सुविधा पाउन सकेका छैनन् । नदी आसपासका बस्तिमा तटबन्ध नहुँदा स्थानीयहरूमा त्रास छ । टावर नहुँदा फोनले पनि राम्रोसंग काम गर्दैन । उपचारकालागि हापुरे बजार वा तुलसीपुर पुग्नु पर्छ ।


आफ्नो निर्वाचन क्षेत्रका जनताका यस्ता समस्या समाधान गर्न तर्फ आफू अग्रसर रहेको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए । उनले विकट क्षेत्रको विकास भएमा मात्रै आफ्नो कार्यकाल सफल हुने बताए । चालु वर्षमा ति बस्तिमा पुग्ने सडक बीचमा पर्ने बबई नदीमा पुल निर्माणकालागि डीपीआर समेत भइसकेको बताए ।

साथै पुरन्धारा झरना हुँदै सिमलकुना,जिलासम्म पुग्ने सडक स्तरोन्नतीकालागि एक करोड बजेट पुगेको छ । विद्युतकालागि समेत पहल पुगेको अर्थमन्त्री मास्कीले बताए । विद्युत पुगेमा त्यहाँको सिंचाई समस्या समाधान हुने समेत बताए । निकुञ्ज क्षेत्र भित्रका बस्तिमा जनावरले सताउने गरेको भन्दै त्यसकालागि तारजाली, खानेपानीको ब्यवस्था पु¥याउने जिम्मेवारी आफ्नो भएकाले त्यसमा आफू दत्तचित्त भएर लागेको उनको भनाई छ । त्यस्तै टेलिफोनकालागि टावर निर्माण गर्न सर्वे भइसकेको मन्त्री मास्कीले बताए । साभारः अग्रिम साप्ताहिक