मन्त्रिमण्डल विस्तारमा न्यायालयलाई भागबण्डा गरियो भन्नु गलत : अध्यक्ष प्रचण्ड

काठमाडौं २३ असोज ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तारमा न्यायलयलाई भागबण्डा गरियो भन्नु गलत भएको बताएका छन्। शनिबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले गजेन्द्र हमाललाई कांग्रेसको कोटाबाट मन्त्री बनाइएको बताए।


अध्यक्ष दाहालले यो विषयमा होहल्ला गर्नु आवश्यक नरहेको पनि स्पष्ट पारेका छन्। “कांग्रेसको आफ्नै मान्छे हो, आफ्नै कोटामा ल्याइसकेपछि यता हो र त्यता हो भन्नुको कुनै तुक छैन,” उनले भने। सांसद नभएको व्यक्तिलाई मन्त्री बनाउन मिल्ने व्यवस्था संविधानमै भएको उनले उल्लेख गरे।

उनले लिपुलेक, कालापानी र लिम्पियाधुराको विषय हिजो पनि केपी ओलीको कर्म नभएर आफूहरुको कर्म भएको बताउँदै भने, “लिम्पियाधुरा, कालापानीको विषय उठाएर संसद्मा लानुपर्छ भन्ने हामी थियौँ। अहिले पनि सरकारको साझा नीति कार्यक्रममा समावेश गरेका छौँ।” फरक प्रसङ्गमा अध्यक्ष दाहालले आगामी निर्वाचनमा चितवन जस्तो जिल्लामा गठनबन्धन भएर जाने बताए।