तुलसीपुरमा अबैध सुनका गहनासहित २ जना पक्राउ

दाङ, ३ पुष । दाङको तुलसीपुरमा अवैध सुनका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर ३ डाडाकुटीका २१ वर्षीय शेर बहादुर बिश्वकर्मा र सोही ठाँउका १९ वर्षीय रुपलाल बिश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि रामबहादुर केसिले बताए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले दिएको जानकारी अनुसार दिउँसो ४ बजेको समयमा तुलसीपुर बजारमा शंकास्पद रुपमा सुन विक्री गर्न हिडिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।


उनीहरुको साथबाट बिल कागजातहरु नभएका सुन जस्तो देखिने पहेलो धातुबाट बनेका हाईड्रोलकेट ६ थान, टिकटकमाला ८ थान, बेबी साईडहार ६ थान र औठी २४ वटा र १ तोला २ दशमलव ५ लाल सुन बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त सुनको मूल्य १ लाख २१ हजार ९ सय ७५ रुपैंया रहेको छ । पक्राउ परेका दुबै जनालाई प्रारम्भिक अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागि बरामद गरिएको सामान सहित आजै राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाईएको प्रहरीले जनाएको छ ।