लमहीका जनप्रतिनिधिलाई कानूनी साक्षरता सम्बन्धि प्रशिक्षण

प्रिया स्मृती गजमेर

लमही, ३० मंसिर । नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन दाङको आयोजनामा लमहीमा एक दिने नि:शुल्क कानूनी साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बोल्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले कानूनमा टेकेर काम गरे कानूनी झमेलमा नपर्ने बताउनु भयो ।

कानूनले सिकाएका कुराहरुलाई आत्मसात गर्दै सेवा प्रवाह गरेको कुरामा प्रमुख चौधरीले जोड दिदै आगामी दिनमा कानूनका जानकारहरुसंग सहकार्य गर्दै अगाडी बढ्ने बताउनु भयो ।

“हाम्रो पालिकाको न्यायीक समितिमा आएका बिवादलाई निष्पक्ष रुपमा हामीले समाधान गरेका छौं, न्यायीक समितिले न्याय दिएका धेरै पिडितसंग मैले बुझ्दा सकारात्मक प्रतिक्रिया दिनु हुन्छ त्यो प्रतिक्रियाले खुशी लाग्छ”- प्रमुख चौधरीले भन्नू भयो ।

त्यस्तै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले न्यायीक समितिमा आउने विबादलाई सहजीकरण गर्न यो कार्यक्रमले मद्धत गर्ने बताउनु भयो । आफुहरु विशुद्ध राजनीति क्षेत्र बाट आएकोले कानूनी कुरा जानकारी नहुने र ती समस्यालाई समाधान गर्न कानूनी सल्लाहकारको सहयोगमा विबाद समाधान गर्दै आएको बताउनु भयो ।


लमही नगरपालिका-३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले कार्य सम्पादनमा यो कार्यक्रमले सेवा प्रबाहमा सहज हुने बताउनु भयो । यो अत्यन्तै आवश्यक थियो, कानून व्यवसायीहरुले आफ्नो निस्वार्थ भावनाले यो कार्यक्रम आयोजना गरेर केही कानूनी परामर्श दिनु भएको भन्दै खुशी व्यक्त गर्नु भयो ।

एक दिने नि:शुल्क कानूनी साक्षरता तथा अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिले जनतालाई दिने सेवा प्रबाहमा आउने कानूनी जटिलताका बारेमा जानकारी गराइएको थियो । जनतालाई न्याय दिदै गर्दा आफुहरु कानूनी झमेला पर्ने कुरामा जनप्रतिनिधि सचेत हुनु पर्ने, कार्य सम्पादन गर्दा आउने कानूनी अप्ठ्यारोमा कानूनी सल्लाहकारको सहयोग लिएर अगाडी बढ्नु पर्ने कुरामा अधिवक्ताहरुले जोड दिनु भएको छ ।

वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईले अनुचित लेनदेन र सजायका बारेमा प्रशिक्षण दिनु भएको थियो । त्यस्तै अर्का वरिष्ठ अधिवक्ता दीपक कुमार रेग्मीले लिखत प्रमाणिकरण र कार्यविधि त्यस्तै अधिवक्ता रेशमराज गिरीले न्यायीक समितिको काम कर्तव्यका बारेमा प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा सहभागी हुनु भएका जनप्रतिनिधिले राखेका कानून सम्बन्धि जिज्ञासाको जवाफ अधिवक्ताहरुले दिनु भएको थियो । लमही नगरपालिकाका जनप्रतिनिधि, वडा सचिव लगायतको सहभागिता रहेको थियो ।

नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन दाङका अध्यक्ष कुमारराज श्रेष्ठको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव नारायण प्रसाद डाँगीले गर्नु भएको थियो ।