गाउँको बाँझो जग्गा सदुपयोग गर्दै बजारका ब्यबसायी

तुलसीपुर, २८ मंसिर ।
कुनै समय व्यबसाय गर्न बजार रोजिन्थ्यो । अहिले पनि सुगमताकालागि गाउँ छोडेर शहर झर्नेहरु उत्तिकै छन् । त्यसले गर्दा गाउँ रितिदै जान थालेका छन् । ति रितिएका गाउँमा भने बजारबाट गएर ब्यबसाय गर्नेहरु आकर्षित हुन थालेका छन् । पुरै गाउँ नै किनेर स्थानीय स्तरमा गरिने खेतिलाई ब्यबसायिक गर्न तर्फ आकर्षित भएको एउटा उदाहरण हो–दाङ घोराही उपमहानगरपालिका वडा नं.१९ सैघामा थालिएको ब्यबसायिक खेति ।

घोराही बजारमा बिभिन्न पेशा ब्यबसाय गरेर स्थापित भएकाहरुले सोही ठाउँमा स्थानीय कुखुरा, बाख्रा, कालिज पालन ब्यबसाय गरेका छन्, भने कागति, स्याउ,नास्पति, एभोकार्डलगायतका ब्यबसायिक खेति गरेका छन् । ब्यबसायी, डाक्टर,इञ्जिनियरसहित १७ जना मिलेर बाझो रहेको जग्गामा ब्यबसाय सुरु गरेका हुन् ।

लाकुरी मल्टि एग्रो हव प्रालि दर्ता गरेर त्यहाँको ३६ रोपनी जग्गा किनेर ब्यबसाय गरेको प्रालिका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । “सबै गाउँबाट झरेर बजार जान थाले,गाउँको सबै जग्गा बाँझो रहन थाल्यो”,उनले भने “उत्पादन हुन सक्ने बाँझो जग्गामा हामीले लगेर उत्पादन गरेमा मुलुकलाई आत्मनिर्भर बनाउने एउटा बाटोको सुरुवात हुन सक्छ, त्यसैले हामीले यसरी मिलेर लगानी गरेका हौं ।”


अहिलेसम्म त्यहाँ करिब डेढ करोड लगानी भइसकेको उनको भनाई छ । पहाड आफै रमणीय हुने भएकाले पर्यटनको पनि आकर्षण गर्न सकिने भन्दै यसरी पहाडको जग्गालाई आफूहरुले सदुपयोग गरेको उनको भनाई छ । त्यो क्षेत्रलाई आफूहरुले पर्यटन केन्द्रका रुपमा विकास गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

उनका अनुसार आफूहरुले तीन वर्ष अघि देखि यो क्षेत्रमा ब्यबसाय सुरु गरेको बताए । केही समयमा त्यहाँ ड्रागण फ्रुट पनि रोप्ने तयारी छ । यसरी बाँझो जग्गालाई सदुपयोग गरि उत्पादनमा जोडिएमा मुलुकको आर्थिक अबस्थालाई सुधार गर्न टेवा पुग्ने प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले बताए । “अहिले धेरै खेतियोग्य जग्गा बाँझो छोडेर सहर पस्ने चलन बढेको छ, यसले आर्थिक उत्पादनका हिसाले मुलुकलाई निकै पछाडी धकेल्छ”,उनले भने “ब्यबसायीहरुले यस्तो जग्गालाई सदुपयोग गरेमा मुलुकलाई आर्थिक हिसाबले पनि टेवा पुग्छ ।”

पछिल्लो समय शहर केन्द्रित ब्यबसायीहरु यसरी नै गाउँमा सम्झावना देख्न थालेका छन् ।सानो लगानीमा धेरै जग्गा पनि आउने र ब्यबसायका हिसाबले पनि उत्तम रहेकाले ब्यबसायीहरु गाउँको बाँझो जग्गालाई सदुपयोग गर्न थालेका छन् । साभारः अग्रिम साप्ताहिक