अप्टिमिष्टको सिकलसेल सचेतना अभियानः कुण्डली हेरेर विवाह गर्न सुझाब

दीपक बोहरा
दाङ, १९ मङ्सिर ।
सिकलसेल एनिमिया बंशानुगत रोग हो । नेपालमा विशेषगरि थारु समुदायमा यो रोग देखिएको छ । गोलो आकारको रक्तकोषहरु हसिया आकारको हुँदा हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ्ग धेरै दुख्ने गर्छ । जसले गर्दा सिकलसेल पीडितहरुलाई साह्रै नै सताउने गर्छ ।

नियमित उपचार गरिरहेपनि सन्चो नहुँने हुँदा यो रोगको निवारण भनेको विवाह गर्दा ‘सिकलसेल कुण्डली’ मिलाउनु नै हो । थारु समुदायमा देखिएकाले यो रोग नयाँ पुस्तामा नसार्नकालागि विवाह गर्दा रोगी भएका ब्यक्तीले अर्को रोगी भएका ब्यक्तीसंग विवाह गर्न नहुँने कुराको सचेतना दिन आबश्यक रहेको बताए ।“अहिले पनि सिकलसेल रोगी तथा बहाक भएकाहरुले अर्को रोगी तथा बहाक भएकाहरुसंग विहे गर्दा सन्तानलाई पनि सताउने गरेको छ”,उनले भने “त्यसैले गाउँ–गाउँ र टोल–टोलमा गएर यो विषयमा सचेतना दिनुपर्छ ।” यो रोगले थारु समुदायलाई निकै नै सताएको भन्दै अब पनि यो विषयमा सचेतना प्रदान गर्न नसकिएमा यसले थारु समुदायको अस्तित्व नै खतरा पार्न सक्ने भन्दै यो कार्यक्रम सबै तहका सरकारले ब्यपक बनाएर लैजानु पर्ने बताए ।

रोगी पुरुषले रोगी महिलासंग विवाह गरेमा यो रोग सन्तानमा पनि सर्छ । त्यस्तै बहाक पुरुषले विरामी महिला तथा विरामी पुरुषले बहाक महिलासंग विहे गर्दा पनि सन्तानमा यो रोग सर्ने गर्छ ।

यो कुरा सबैमा जानकारी नहुँदा अहिले पनि विरामी–विरामीबीच विवाह भइरहेको तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख ओमपी न्यौपानेले बताए । उनका अनुसार विरामी पुरुष वा महिलाले सामान्यसंग विहे गरेमा बच्चामा सर्दैन । त्यस्तै आमा वा बुवा बाहक भएमा पनि सामान्य संग विहे गर्दा बच्चामा सर्दैन । यो कुरा थारु समुदायको गाउँ–गाउँमा गएर जनचेतना दिन आवश्यक रहेको उनको भनाई थियो ।


शनिबार अप्टिमिष्ट क्लब तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा तुलसीपुर ७ मोतिपुरको थारु बस्तिमा जनचेतना मुलक कार्यक्रम गरिएको हो । क्लबका अध्यक्ष कमल सापकोटाले यो कार्यक्रम जिल्लाका सबै थारु बस्तिमा आयोजना गर्ने गरि सुरुवात गरेको बताए । दाङका थारु समुदायमा सिकलसेल भयाबह अवस्थामा छ ।

सिकलसेल पीडितलाई राज्यले एक लाखसम्मको उपचारको ब्यबस्था गर्ने गरेको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा फोकल पर्सन विमल केसीले बताए । उनका अनुसार गाउँ–गाउँमा यो रोग पत्ता लगाउनकालागि स्क्रिनिङ गर्न पनि आवश्यक रहेको उनले बताए । हाल तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा सिकलसेलको स्क्रिनिङ हुने गरेको छ ।

दाङमा गएको बर्ष दुईहजार आठसय २ जनामा गरिएको स्क्रिनिङ गरिएकोमा ३७ जनामा सिकलसेल भेटिएको थियो भने तीनसय २८ जनामा बहाक देखिएको थियो । बहाक भनेको आधा रोगी भन्ने बुझिन्छ । साभारः अग्रिम साप्ताहिक