प्राविधिक शिक्षाको विकासका लागि प्रतिवद्ध छौँः नगरप्रमुख खड्का

तुलसीपुर, २२ जेठ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्ने वताएका छन् । समयसापेक्ष शिक्षाका रुपमा प्राविधिक शिक्षाको विकास अपरिहार्य भएको हुँदा स्थानीय सरकार प्रमुखका रुपमा आफुले विशेष भुमिका बहन गर्ने उनको भनाई थियो । तुलसीपुर मेट्रो कलेजले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष समेत रहेको खड्काले कलेजलाई नमुना बनाउनका लागि सबैको भुमिका महत्वपूर्ण हुने कुरामा जोड दिए ।

‘तुलसीपुरको विकास र समृद्धि प्राविधिक शिक्षाको विकासमा निर्भर रहेको हुन्छ’ नगरप्रमुख खड्काले भने । निम्नवर्गका जनतालाई प्राविधिक शिक्षाको पहुँचमा ल्याउनका लागि पालिकाले विशेष कार्यक्रम सञ्चालन गर्ने समेत उनले वताए ।
कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले प्राविधिक शिक्षालाई निशुल्क बनाउने प्रतिवद्धता व्यक्त गरिन् । ‘सामान्य जनताका छोराछोरीहरु आर्थिक अभावमा पढ्न नसक्ने वातावरण हाम्रो नेतृत्वमा हुँदैन’ चौधरीले भनिन् । कलेजको उपाध्यक्ष समेत रहेकी चौधरीले मेट्रो कलेजको गरेको कामको प्रशंसा समेत गरिन् ।


सो अवसरमा निवर्तमान मेयर घनश्याम पाण्डेले जनताको साथ र सहयोगले कलेज स्थापनाको सपना पुरा भएको वताए । ‘कलेज सञ्चालनका क्रममा केही भ्रम सृजना भएको थियो तर जनतालाई हामीले बुझाउन सफल भएका छौँ’ पाण्डेले भने । उनले कलेजलाई विश्वविद्यालयस्तरमा लैजाने आफ्नो सपना भएको पनि बताए ।

प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले प्राविधिक शिक्षाको विकासमा कलेजले विशेष भुमिका वहन गरेको बताए । सो अवसरमा वडाध्यक्ष खुसीराम चौधरी, मानवहादुर रावत र धर्म वलीले शुभकामना व्यक्त गरेका थिए । पूर्व वडाध्यक्ष सुर्यबहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सुधा ढकालले गरेकी थिइन् भने कार्यक्रमको सभापतित्व कलेजप्रमुख वसन्त आचार्यले गरेका थिए ।