मुलुकको चुहावट रोके मात्रै समृद्धिले गति लिने हो : मन्त्री मास्की

देउखुरी, ११ मंसिर ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्की राजेशले मुलुकको चुहावट रोके मात्रै समृद्धिले गति लिने बताएका छन् । प्यूठानको सरुमारानी गाउँपालिका वडा नं.२ गनाहाखोलामा आयोजित जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानलाई सम्बोधन गर्दै मन्त्री मास्कीले यस्तो बताए ।‘केन्द्र सरकारले सुशासन कायम गर्न खोजेको छ । तपाईहरुले हामीसंग धेरै विकास माग्नु भयो, ति विकास बजेट भएपछि मात्रै हामी दिन सक्छौं’,उनले भने‘त्यसकालागि हामीले चुहावट रोक्नु पर्छ, अहिलेको सरकारले त्यसको सुरुवात गरेको छ ।’

विगत सरकारले नदिनाला बेचेको, पैसाकै लागि देशको अस्मिता समेत बेच्न तयार हुँदा मुलुकमा आर्थिक शंकट भएको भन्दै यसलाई रोक्न बर्तमान सरकारले सुशासनको सुरुवात गरेको मन्त्री मास्कीले बताए ।

अहिले भ्रष्टाचार गर्ने पूर्वउपप्रधानमन्त्री, देशका ठूलाठूला कर्मचारी, ब्यापारीहरु जेलमा गएको भन्दै यो सरकारको सकारात्मक कदम भएको मन्त्री मास्कीको भनाई छ ।


माओवादी नेतृत्वको सरकारले सुरुवात गरेको सकारात्मक कदमले देशमा सकारात्मक रक्तसञ्चार भएको समेत उनले बताए । ‘माओवादीले यो देशलाई गति दिन सक्छ, परिवर्तन र अधिकार स्थापित गर्न सक्छ, भन्ने भरोसा पैदा भएको छ’,उनले भने ।

साथै उनले रक्षानमा पुगिसकेको मुर्दालाई फार्काउन केही तत्वहरुले प्रयत्न गरिरहेको भन्दै यसमा जनताले प्रतिकार गर्नुपर्ने बताए । ‘केही तत्वहरुले ब्यवस्था विरुद्ध धावा बोल्न खोजेका छन्’,उनले भने‘यसलाई हामीले जोगाउनु पर्छ, जनताको बलिदानले ल्याएको गणतन्त्र उल्टाउने तागत कसैको पनि छैन ।’