घोराही-तुलसीपुर चारलेन निर्माण पुनः सुरु हुँदैछःमन्त्री शर्मा

दीपक बोहरा
दाङ,२७ असोज ।
सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले दाङ स्थित घोराही-तुलसीपुर चारलेन सडक निर्माणको काम पुनः सुरु हुन लागेको बताएकी छन् । शनिबार तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ मा माओवादी केन्द्रले आयोजना गरेको विजयादशमीको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले तिहार लगतै टेण्डरमा लैजाने तयारी भएको बताईन् ।

उनका अनुसार त्यसकालागि सर्वे भइसकेको समेतछ ।“सर्वे भइसकेको छ, भौतिक पूर्वाधार मन्त्रीसंग पनि कुरा भइसकेको छ”,उनले भनिन् “ तिहार पछि टेन्डर हुन्छ र काम अघि बढ्छ ।”विगतमा कतै दुई लेन र कतै चारलेन बनाउने कुरा रहेको भएपनि अब पुल सहित सबै तिर चारलेन बनाउने गरि सर्वे भएको मन्त्री शर्माको भनाई छ । एक्जिम बैंककै लगानीमा पुनः चारलेनको काम सुरु हुने उनको भनाई छ ।“फेरि पनि एक्जिम बैंकले नै लगानी गर्ने कुरा रहेको छ”,उनले भनिन् ।


हाल उक्त सडकखण्डमा सडक मर्मतको काम भइरहेको छ । यस अघि पाँच बर्षसम्म पनि चारलेन निर्माणको काम अलपत्र हुँदा जावतजावतमा निकै समस्या परेको छ । दुर्घटना भइरहेका छन् । नागरिकको ब्यापक दवाव पछि चारलेनको ठेक्का तोडिएको थियो । एक्जिम बैंकले लगानी गरेका धेरै ठाउँमा ठेक्का तोड्न समस्या हुने गरेको भएपछि घोराही-तुलसीपुर चारलेनलाई भने सहजै ठेक्का तोड्न सकिएको समेत मन्त्री शर्माले बताईन् । “अन्य ठाउँका योजनाहरु तोड्न निकै समस्या हुने गरेका छन्, ठेक्का तोडिएपनि अदालतमा मुद्दाले समस्या पारिरहेका छन्”,उनले भनिन् “तर, हामीले धेरै प्रक्रिया पूरा गरेर सहजै ठेक्का तोड्न सफल भयौं ।”

साथै उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएस अध्ययनकालागि भवन निर्माणकालागि ३० करोड बजेट आएको समेत बताईन् । त्यसकालािग ठेक्काको तयारी रहेको छ ।