विज्ञापन खोल्दा पनि आउदैनन् मेडिकल अफिसर

तुलसीपुर,२२ असोज ।
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मेडिकल अधिकृतकालागि दुई पटक विज्ञापन गरियो । तर, दुई पटक नै कुनै आवेदन परेनन् । करारमा मेडिकल अधिकृत नियुक्ती गर्नकालागि आबेदन आह्वान गरेपनि कुनै आवेदन नपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले बताए ।

चार जनाको विज्ञापन आह्वान गरेपनि आवेदन नपर्दा अहिले सीमित डाक्टरले सेवा दिनु परेको उनको भनाई छ । “मेडिकल अफिसर नै पाउन सकिएको छैन, दुई पटक विज्ञापन खोल्दा पनि कोही पनि आएका छैनन्”,उनले भने ।

हाल अस्पताल ५० बेडको छ । तर, सेवा एकसय ५० सञ्चालनमा छ । त्यसलाई दुईसय सैया बनाउने गरि प्रदेश सरकारले कसरत थालेको छ । डायोलाइसिस, प्रसुतिलगायतका सेवामा अझै पनि जनशक्ति अभाव छ । जनशक्ति अभावकै कारण आईसियु सेवा सञ्चालन गर्न सकिएको छैन । आईसियुकालागि करिब १० बेड चाहिन्छ ।


जसमा ६ जना मेडिकल अधिकृत, १९ जना नर्सिङ, ६ जना कार्यालय सहयोग चाहिने निमित्त मेसु अधिकारीले बताए । उपकरण भएपनि जनशक्ति अभाबकै कारण उक्त सेवा सञ्चालन गर्न नसकिएको उनले बताए । दैनिक एक सय जना विरामीलाई धान्न सक्ने मात्रै जनशिक्ति भएपनि हाल दैनिक ६ सय जना विरामी आउने गरेको उनले बताए । अर्को तर्फ प्रशासननिक काम पनि मेसुले नै हेर्नुपर्ने अवस्था रहेको छ ।

हाल अस्पलतामा कन्सलटेन्ट १४ जना,मेडिकल अफिसर २५ जना,स्टाफ नर्स ६८ जना कार्यरत छन् । प्रदेश अन्तर्गत रहेकाले यो अस्पताललाई आगामी मन्त्री परिषदको बैठकबाट दुईसय बेडको स्वीकृत गर्ने लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए । साभारः अग्रिम साप्ताहिक