विद्यार्थी नै बेच्छन तरकारी

तुलसीपुर, २६ भदौ ।
केही विद्यार्थीले तरकारी तौलिरहेका हुन्छन्, भने केहीले ग्रहाकसंग ‘बार्गेनिङ’ गरिरहेका हुन्छन् । विद्यार्थीहरु आफैले उत्पादन गरेका तरकारी आफै विक्री वितरण गर्दै आएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं.४ स्थित गुरुजजुर माविमा कृषि बालि विज्ञानमा अध्ययनरत विद्यार्थीहरुले ४ विघा भन्दा बढि जग्गा भाडामा लिएर तरकारी खेति गर्ने गरेका छन् । जसबाट उत्पादन भएको तरकारी बजारमा लिएर पनि बेच्ने गरेका छन्, भने विद्यालयका अभिभावक तथा वरपरका बासिन्दालाई विक्री गर्ने गरेका छन् ।

कृषि शिक्षा बढि प्रयोगात्मकमा केन्द्रित हुने भएकाले पनि सबै विद्यार्थीहरु मिलेर यसरी कृषि खेति गरेको र उत्पादित तरकारी आफैले विक्री गर्ने गरेको विद्यार्थी रेशम विश्वकर्माले बताउनुभयो । “हाम्रो विषय पनि कृषि भएकाले कृषिलाई कसरी आधुनिक गर्न सकिन्न भन्ने पनि थाहा हुन्छ”,उहाँले भन्नुभयो“खोज अनुसन्धान गर्न सहज पनि भएको छ ।”

विद्यालयले विउलगायत अन्य प्राबिधिक सहयोग गर्दै आएको छ, भने त्यसमा विद्यार्थीहरुले खेति गर्ने गरेका छन् । आबश्यकता अनुसार विद्यालले ऋण पनि दिने गरेको छ । उनीहरुले त्यो ऋण त्यही उत्पादित बस्तु बिक्री गरेर तिर्ने गरेका छन्, भने बाँकी रहेको रकम कोषमा जम्मा गर्ने गरेका छन् । प्रयोगात्मककालागि लाग्ने खर्च त्यही कोषबाट ब्यहोर्दै आएको विद्यार्थी शोभा बुढाथोकीले बताउनुभयो । तुलसीपुर ३ स्थित गोटीखोलामा ८ कठ्ठा, रानागाउँमा २ विघा १७ कठ्ठा, गाडीबरा सामुदायिक बनको १ विघा जति जग्गा भाडामा लिएर यसरी कृषि खेति तथा अन्य प्रयोगात्मक कार्य गर्दै आएका छन् ।


विद्यार्थीहरुले यस अघि ५२ किलो बोडी, सीमी विक्री गरेका छन् । त्यस्तै हाल हलेदो, सयपत्री, कफ, आँप,कटहर, अमिला, अमिला जातका फलफूल, सितलचिनी, खयर, अमला, हर्रोबर्रो, भटमासलगायत खेति गरेका छन् । विद्यालयमा उद्यमी क्लब गठन गरेर यसरी उनीहरु ब्यबसायमा जोडिएको विद्यालयका कृषि संकाय प्रमुख समीक्षा गुप्ताले बताउनुभयो । सैद्धान्तिक कक्षा बाहेक प्रयोगात्मक कक्षाको समयमा उनीहरुले समूह बनाएर यसरी खेति गर्ने गरेका छन्।

मेहनत अनुसारको फल प्राप्त भएपछि विद्यार्थीहरुलाई थप हौसला प्राप्त भएको छ । विद्यार्थीहरुलाई आम्दानी पनि हुने र अनुसन्धान पनि हुने भएकाले पनि विद्यार्थीहरुलाई कृषि खेतिमा प्रोत्साहन गरिएको हो । यो संगै विद्यार्थीहरुले कस्तो ठाउँ, कस्तो मौसममा के खेति हुन्छ, भन्ने कुरा पनि थाहा पाउने गरेका छन् । सााभरः अग्रिम साप्ताहिक