कम्युनिष्टको नाम भन्न डराउने समयमा यसरी संगठन बनाउथे जोगबहादुरहरु

दीपक बोहरा
दाङ, २५ चैत ।
२०५३/०५४ तिरको कुरा हो । जतिबेला दाङमा कम्युनिष्टको नाम भन्न पनि डराउनु पथ्र्यो । सरकारको तर्फबट पनि उत्तिकै दमन हुन्थ्यो, भने काँग्रेसले पनि दमन गर्थे । अहिले जसरी कम्युनिष्ट बलियो बनेको छ,त्यो कठीन अबस्थामा बनेका संगठनको उपलब्धी हो । रातिराति बनाएका संगठनहरु अहिले बलिया बनेका छन् । दाङमा कम्युनिष्टहरुले नै जिल्ला‘कब्जा’ गर्ने अबस्थामा पुगेका छन् । यसको एउटा श्रेय जोगबहादुर राणालाई जान्छ । त्यतिबेला जीवन नै हत्केलामा राखेर संगठन विस्तार गर्दै हिड्ने कम्युनिष्ट नेता मध्ये हुन्, उनी ।

कम्युनिष्टको संगठन विस्तार गर्दै हिडेको भन्दै उनको घरमा बम पनि हानियो । २०५४ सालतिर उनको नवलपुर स्थित घरमा बम हानिएको थियो । त्यहाँबाट उनीहरु प्रसेनी सरे । प्रसेनी स्थित घरमा पनि ढुंगामुडा भयो । तुलसीपुर निवासी राणालाई जतिबेला ५० भन्दा बढि राजनीतिक मुद्दा लागेका थिए । तर, संगठन विस्तार गर्ने जाँगर मेरेनन्, झनै उत्साह जाग्यो ।‘हामीले संगठन विस्तार गर्दा निकै कठीन अबस्था थियो, मेरो घरमा बम हानीयो, ढुंगामुढा भयो’,उनलेभने‘तर, हामीले हिम्मत हारेनौं, नियमित संगठन विस्तार र पार्टी निर्माण अभियानमै लाग्यौं, त्यसकै परिणाम कम्युनिष्ट पार्टी जिल्लामा यो अबस्थामा पुगेको हो ।’

त्यतिबेला नागरिक पनि कम्युनिष्ट भन्नवित्तिकै डराउथे । कम्युनिष्टसंग भेट भयो भने मात्रै पनि त्यतिबेला कुटपिट गर्ने अबस्था थियो । त्यसैले जनता पनि खुल्न नमान्ने भएकाले संगठन विस्तार गर्न निकै चुनौति रहेको उनी अनुभव सुनाउछन् ।‘हामीसंग मान्छेहरु भेट्नै पनि डराउथे, त्यसैले पनि राति गएर हामीले संगठन बनाउथ्यौं’,उनले भने‘ निकै चुनौति थियो ।’

उनीसहित जिल्लामा १०–१५ जना नेता मात्रै थिए, जो संगठन विस्तार गर्न गाउँ–गाउँ पुग्थे । त्यतिबेला पुरन्धारा, रामपुर, हाँसिपुरजस्ता ठाउँमा साईकलमा गएर संगठन विस्तार गरेको उनको अनुभव छ । कसैले देख्छ की भनेर लुकेर संगठन विस्तार गर्नुपर्ने अबस्था थियो । २०४६ यता केही सहज हुने अपेक्षा लगिएपनि त्यसपछि पनि जिल्लामा भने पहिलेको ‘ह्याङओभर’बाँकी नै थियो । त्यसले गर्दा पनि त्यति सहज थिएन । त्यसयता विस्तारै–विस्तारै सहज हुँदै गएको उनी बताउछन् ।

त्यो इतिहास बोकेका एउटा नेता राणा–जो पटक–पटक सत्तामा जाँदा पनि पदको कुनै लोभ गरेनन् । ‘मूल्यांकन पार्टीले गर्ने हो, मैले कहिल्यै पनि पदकालागि लडाई गरिन’,उनले भने‘सधै पार्टीकै लागि लागँे ।’ उनले अहिलेसम्म सांसदको चुनाब लड्ने अबसर पाएका छैनन् । उनले २०७४ सालमा प्रदेश सांसदको चुनाब लड्ने इच्छा ब्यक्त गरेपनि त्यो अवसर पनि प्राप्त गर्न सकेनन् ।


सरकारी जागिर छोडर, राजनीतिमा
२०४२ सालमा उनी सरकारी जागिरे थिए । त्यो छोडेर उनी सक्रिय राजनीतिमा आए । त्यसपछि उनी २०४४–२०४७ समम पटक–पटक भूमिगत भए । २०४९ सालमा युवा संघ दाङको जिल्ला अध्यक्ष भएका उनी २०५२ सालमा युवा संघको केन्द्रीय सदस्य भए ।

२०५३ सालमा पिपल्स भोलिन्टिएरको केन्द्रिय सदस्य तथा मध्यपश्चिम इञ्चार्ज, २०५४ सालमा भएको एमालेको छैठौ महाधिवेसन प्रतिनिधि, सोही समयमा २०५४ सालमा स्थानीय चुनाबमा जिल्ला विकास समिति दाङको सदस्य भए । २०६५ सालमा मध्यपश्चिम खेलकुद अध्यक्ष, सोही बर्ष भएको एमालेको आठौं महाधिवेशनमा उनी महाधिवेन प्रतिनिधि भएर गएका थिए ।

उनी दाङ जिल्ला कमिटिमा १६ बर्ष कार्य समिति सदस्य भए । त्यो समयमा उनी बिभिन्न संघसंस्थाको सल्लाहकार संस्थापक भएर समेत काम गरेका छन् । उनी २०६७ सालमा एमाले दाङको सचिबमा निर्वाचित भएका हुन् । २०६९ सालमा जिल्ला उपाध्यक्ष र २०७१ सालमा जिल्ला अध्यक्ष भएका हुन् ।

त्यस्तै २०७३ सालमा लुम्बिनी प्रदेश कमिटि सदस्य मनोनित भएका उनी एमाले र माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेकपााको लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा युवा तथा खेलकूद विभाग प्रमुख भएका थिए । हाल एमाले फुटेपछि एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज रहेका छन् । (अग्रिम साप्ताहिकमा आगामी चैत २८ गते सोमबार प्रकाशित अंकको केही अंश यहाँ प्रकाशित गरिएको छ ।)