गाउँमा थारु होमस्टे र संग्राहलय

तुलसीपुर,१८ भदौ ।
थारु सांस्कृति लोप हुदै जान थालेपछि युवाहरु यसको संरक्षणमा जुटेका छन् । संस्कार र संस्कृतिका हिसाबले धनि मानिएको थारु समुदायको पहिचान लोप हुन थालेपछि युवाहरु त्यसलाई जोगाउन सक्रिय भएका हुन् । दाङ दंगीशरण गाउँपालिका वडा नं.४ बैबाङका युवाहरुले मिनि थारु संग्राहलय तथा होमस्टे सञ्चालन गरेका छन् ।

जहाँ थारु समुदायका भेषभुषा, खानेकुरालगायत अन्य सामाग्री राखेका छन् ।“थारु संस्कार, संस्कृतिमा थारु समुदाय धनी हो, तर पछिल्लो समय युवाहरुले यो संस्कार र संस्कृति भुल्न थालेको गुनासो बढेको छ”,थारु युवा राजेश चौधरीले भन्नुभयो“त्यसैले हामीले यसलाई संरक्षण गर्नकालागि होमस्टे र मिनि संग्रहालय सञ्चालनमा ल्याएका छौं ।”

जहाँ थारु समुदायका महिलाहरुले प्रयोग गर्ने गरेका परम्परागत लुगाफाटा, गरगहना,दैनिक प्रयोग गर्ने ढिकी, जातो, कोल, डाली, ढकिया जस्ता बस्तुहरु राखिएको छ ।


थारु समुदायको अन्य समुदाय भन्दा भिन्न संस्कार र संस्कृति थियो । त्यसपछि सक्रिय भएका युवाहरुले चलाएको होमस्टे र मिनि संग्राहलय हेर्नेहरुको भीड लाग्ने गर्छ । “हेर्नकालागि शहर बजारका मानिस आउने,गफ गाफ हुने र अनुभव सुन्ने र सुनाउने अवसर मिल्छ”, चौधरीले भन्नुभयो ।

नजिकै थारु संग्राहलय चखौरा र थारु राजा दंगीशरणले राज गरेको सुकौरा रहेको छ, भने बीचमा युवाहरुले मिनि थारु संग्रालय सञ्चालनमा ल्याएका छन् ।

युवाहरुले यसरी सञ्चालनमा ल्याएका होमस्टेले मठमन्दीर,प्राकृतिक सम्पदा लगायतको अध्ययन अवलोकन गर्न पर्यटक आउने भएकाले पालिकाको पनि आर्थिक समृद्धि हुने दंगीशरण गाउँपालिका उपाध्यक्ष पीमाकुमारी खड्काले बताउनुभयो ।“होमस्टेल, संग्राहलयले गर्दा अवलोकन गर्नेहरुको संख्या बृद्धि हुन्छ”,उहाँले भन्नुभयो“जसले गर्दा पालिकाको पनि आम्दानी बढ्छ ।” होमस्टेमा ४ वटा कोठामा आरामदायी बिछ्यौनामा पाँहुनालाई सुताउने ब्यबस्था गरिएको छ । जहाँ थारुको थारुको परम्परागत खानेकुरा ढिक्रि,माछा लगायतका खानेकुरा खुवाईन्छ ।