छिल्लीकोटमा प्याराग्लाइडिङ

दाङ, १२ भदौ ।
दाङ तुलसीपुरको आकाशमा साहसिक खेल मानिने प्याराग्लाइडिङको सफल परीक्षण उडान पूरा भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ स्थित धार्मिक एवं पर्यटकीय स्थल छिल्लीकोटको पहाडबाट आइतबार र सोमबार दिउँसो प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको हो। तुलसीपुरको आकाशमा पहिलो पटक प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको हो।

कास्की पोखराबाट आएका पाइलट कृष्णबहादुर क्षत्रीले लगातार दुई दिन सफल परीक्षण उडानको काम सफलतापूर्वक गरिएको बताए।

‘भौगोलिक र वातावरणीय दृष्टिकोणबाट विश्लेषण गर्ने हो भने पनि दाङको छिल्लीकोट प्याराग्लाइडिङ उडानका लागि बेष्ट ठाउँ रहेछ,’ क्षत्रीले भने, ‘हामीले दुई दिन लगातार दुई उडान सफलतापूर्वक पूरा गरेका छौं।’

तर, उनले नियमित उडान भर्नका लागि छिल्लीकोटको पहाडको डाँडोमाथि टेकअफ गर्ने ठाउँ बनाउन भने आवश्यक रहेको प्रतिक्रिया दिए।

‘छिल्लीकोटमा जिपलाइन पनि निर्माण गरिएको रहेछ,’ उनले भने, ‘त्यो दृष्टिकोणबाट विश्लेषण गर्ने हो भने छिल्लीकोट भविष्यका लागि प्याराग्लाइडिङका लागि बेष्ट स्पट हुन सक्छ।’

तुलसीपुर क्षेत्रमा कृषि फर्महरू सञ्चालन गर्दै आएका तुलसीपुरका तीन युवा रविन्स डाँगी, बाबुराम घिमिरे र जय गौतमका साथै घोराहीका मोहन बस्नेतले मिलेर प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन तथा अनुसन्धान गर्ने उद्धेश्यले पोखराबाट पाइलटसहित आवश्यक सामग्री ल्याई तुलसीपुरको छिल्लीकोटमा परीक्षण उडान गरेका थिए।

‘स्थानीय पालिका वा राज्य तहबाट केही होला भनेर धेरै पर्खियौं, तर हालसम्म केही भएन,’ डाँगीले भने, ‘राज्य तहबाट केही नभए पनि अब आपसमा मिलेर जिल्लाको पर्यटन प्रवर्द्धनमा केही गर्न सकिन्छ कि भनेर कृषि फर्म क्षेत्रमा काम गर्दै आएकाहरूले प्याराग्लाइडिङको अनुसन्धान तथा परीक्षण उडान गराएका हौं।’

आफूहरूको सपना पूरा भएको हुँदा भविष्यमा फ्लाइ स्कुल खोल्ने सोचका साथ काम अगाडि बढाइएको डाँगीले बताए। अर्का युवा घिमिरेले हप्ता दिन भित्रै कम्पनीको नाम टुंगो लगाई दर्ता प्रक्रियामा लगेर प्याराग्लाइडिङको व्यावसायिक उडान गर्ने सोचका साथ काम भइरहेको जानकारी दिए।

स्थानीय प्रशासन, स्थानीय सरकार लगायतसँग समन्वय गरी कम्पनी दर्ता गरिने उनले बताए । टेकअफ र ल्याण्ड गर्ने ठाउँको जग्गा दर्ता गर्नुपर्ने भएको हुँदा सोही अनुरूप आफूहरू अगाडि बढेको घिमिरले जानकारी दिए।

छिल्लीकोटको पहाडबाट दुई दिनको सफल परीक्षण उडानका क्रममा स्थानीय भित्री सक्राम, स्यालापानी कालोखोला किनार र श्रीचौरमा ल्याण्डिङ गरिएको हुँदा ती ठाउँहरूका जग्गा दर्ता प्रक्रियाका लागि सम्बन्धित निकायसँग प्रस्ताव राखिने घिमिरले बताए।

उडान भर्नुभन्दा पहिले स्थानीय वडा प्रमुखसँग अनुमति लिएको र उडान सफल भएको देखेर स्थानीय जनप्रतिनिधि पनि खुसी भएको उनले प्रतिक्रिया दिए।

छिल्लीकोटबाट सोझै झर्दा १२ मिनेट र अन्य ठाउँमा ल्याण्डिङ गर्दा कम्तीमा ४५ मिनेट जति आकाशमा आफूहरू उडाउन सफल भएको डाँगीले जानकारी दिए।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि त्यहाँको सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङको उडानमा प्रतिबन्ध लगाइएपछि पाइलट क्षत्री लगायतको समूह स्थानीय युवाहरूसँग समन्वय गरी नयाँ स्थलको खोजीमा जुटेका हुन्।

‘सराङकोटबाट हुने उडानमा प्रतिबन्ध लगाइएपछि हाम्रो लगानी डुबेको छ,’ पाइलट क्षत्रीले भने, ‘त्यसैले देशका अन्य त्यस्ता सम्भावित ठाउँहरूको खोजी गरी साहसिक खेलमार्फत् पर्यटन प्रवर्द्धनका साथै स्वदेशमै नयाँ रोजगारीका अवसर सृजना गर्न आवश्यक छ।’


परीक्षण उडान सफल भएको हुँदा दर्ता प्रक्रिया पूरा भएपछि व्यावसायिक उडानको योजनाका साथ काम अगाडि बढाइएको डाँगीले बताए।

‘हाम्रो टिम पहिलो चरणमा दैनिक तीन वटा जति उडान भर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेको छ,’ डाँगीले भने, ‘लागत स्टिमेट सबै हेरेर एउटा उडानको कति लिने भन्ने पछि टुंगो लगाउँछौं।’

तर, उनले यात्रुलाई पोखराको भन्दा सस्तोमा आकाशमा उडाउने योजनाका साथ सरसल्लाह भइरहेको बताए।

पोखरामा एउटा उडानको लागि यात्रुले १२ हजारसम्म तिर्नुपर्ने भए पनि दाङमा पहिलो सुरूआत भएको हुँदा त्योभन्दा थोरै शुल्कमा उडाउनु पर्छ भन्ने सरसल्लाह टिममा भइरहेको डाँगीले बताए।

तुलसीपुरका मेयर टीकाराम खड्काले आफ्नै वडामा भएको सफल प्याराग्लाइडिङको उडानबारे हल्लाखल्ला भएपछि मात्रै थाहा पाएको सेतोपाटीलाई प्रतिक्रिया दिए।

‘युवाहरूले गर्न थालेको काम त राम्रै मान्नु पर्छ,’ उनले भने, ‘सफल उडानले त्यो टिम र स्थानीय पनि खुसी छन्, तर उनीहरूले प्रक्रिया भने मिचेर काम गर्नु भने गलत थियो।’

प्याराग्लाइडिङको परीक्षण उडान पूर्व स्थानीय प्रहरी प्रशासन, स्थानीय सरकारसँग अनुमति नलिई काम गर्नुपर्नेमा आफूखुसी सुटुक्कु उडाउनु गलत भएको उनले टिप्पणी गरे।

‘आफूखुसी त्यसरी काम गर्दा कुनै दुर्घटना भएको भए त्यसको जिम्मेवारी कसले बहन गर्थ्यो होला ? ,’ उनले प्रश्न गरे, ‘स्थानीय युवा छन् भन्दैमा आवश्यक प्रक्रिया र अनुमति लिनुपर्दैन भन्ने सोच उनीहरूको सही थिएन।’

भविष्यमा उनीहरूले आवश्यक कानुनी सबै प्रक्रिया पूरा गरी व्यावसायिक उडान गर्न सक्ने र त्यसका लागि तुलसीपुर उपमहानगरपालिका आवश्यक सहयोग गर्न तयार रहेको मेयर खड्काले बताए।

‘यो ठाउँको पर्यटन प्रवर्द्धन र नयाँ सम्भाव्यताको खोजी गर्न तथा रोजगारी सृजना गर्ने कुरामा हामी जहिल्यै सकारात्मक छौं,’ मेयर खड्काले भने, ‘तर, त्यसको लागि आवश्यक प्रक्रियाहरू पूरा गरी आउन जरूरी छ।’

तुलसीपुर–१९ का वडाध्यक्ष प्रेम योगीले भने प्याराग्लाइडिङको परीक्षण उडान गर्नुभन्दा पहिला युवाहरूको टिमले आफूसँग अनुमति लिएको बताए।

‘उहाँहरू आएर पोखराको टिम हौं भनेर भन्नुभयो र मैले स्थानीय कसैलाई पनि नउडाउनु होला आफूहरू मात्रै उड्नुहोला भनेर अनुमति दिएको थिएँ,’ उनले भने, ‘एक दिन म पनि रमाइलो लागेर सक्राममा त्यो उडेर आफैं हेर्न गएँ र आफ्नै वडाको आकाशमा सफल परीक्षण भएको देखेर साह्रै मन रमायो।’

परीक्षण उडानबाट ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल छिल्लीकोटको पहाडसँग अथाह सम्भावनाको उजागर भएको उनले बताए।

‘अब छिल्लीकोटबाट साहसिक मानिने प्याराग्लाइडिङको सफल उडान गर्न सम्भव छ भन्ने पुष्टि भएको छ,’ उनले भने, ‘जसले जिल्लाको पर्यटन प्रवर्द्धन र समृद्धिमा टेवा पुग्ने आशाको सञ्चार गरेको छ।’ साभारः सेतोपाटी