खुकुरी प्रहार गरी हत्याको प्रयास गर्ने छ जना पक्राउ

दाङ, २५ साउन । दाङमा एक युवकलाई खुकुरी प्रहार गरी हत्याको प्रयास गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ शंखेपिपलका १८ वर्षिय तीर्थ बहादुर पुनलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले घोराही-१८ का १७ वर्षका युवक, घोराही-१४ गणेश मन्दीर टोलका १६ वर्षका युवक, बंगलाचुली गाउँपालिका वडा नम्बर १ जुम्लेपानी घर भई घोराही-१८ बस्ने २० वर्षिय देवेन्द्र कुँवर मगरलाई पक्राउ गरेको हो ।

यस्तै घोराही-१८ भंगीटोलका १७ वर्षिय युवक, घोराही-१९ घर भइ सैघा घर भई घोराही-१८ बस्ने १७ वर्षका युवक र घोराही-१८ मसिनाका १५ वर्षिय युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमका अनुसार उनीहरुले साउन १० गते राती पौने १२ बजेतिर पिडित पुनलाई टाउको अनुहार, बाँया हातको कान्छी औँला बाहेक सबै औँला काटेर घाइते बनाएका छन् । घाइते पुनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

पक्राउ परेकामाथि दाङ देउखरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रवक्ता गौतमले बताउनुभयो । उनीहरु बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा चलाइएको छ ।