शिक्षा अधिकृत माथि मोविल छ्याप्ने बुढाथोकीले स्वीकारे‘गल्ती’

दाङ, १३ साउन ।
दाङको घोराही स्थित पद्मोदय पब्लिक नमूना माविको विद्यालय ब्यबस्थापन समितिको निर्वाचन गराउन जाने क्रममा शिक्षा अधिकृत अजय बोहरामाथि मोविल छ्याप्ने घोराही १५ का वडा सदस्य लेखनाथ बुढाथोकीले आफ्नो गल्ती स्वीकार गरेका छन् ।

उनले आफ्नो बयानमा कसुर स्वीकार गर्दै उक्त घटनाको मुख्य कारण नियम विपरीत हुन लागेको विद्यालयको निर्वाचन भएको दाबी गरेका छन् । बुढाथोकीका अनुसार, पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचनमा राजनीतिक दलका कार्यकर्ताहरूलाई नियम विपरीत उम्मेदवार बनाइएको र आफूले पटक–पटक निर्वाचन रोक्न आग्रह गर्दा पनि सुनुवाइ नभएकाले आक्रोशमा आएर आफूसँग रहेको बोतलको कालो मोबिल बोहराको टाउको र शरीरमा खन्याएको बयान दिए ।


आफू घोराही १५ को वडा सदस्य र एक जिम्मेवार नागरिक भएको नाताले गलत कार्यको विरोध स्वरूप उक्त कार्य गरेको जिकिर गर्दै उनले सो घटनाको भिडियो आफ्नै फेसबुकबाट सार्वजनिक गरेको समेत स्वीकार गरे ।