सल्यानमा फरार रहेका हत्याका आरोपी मृत फेला

सल्यान, २५ साउन । चारदिन अघि शारदा नगरपालिका १४ माल्नेटामा ४७ वर्षीया प्रमिला गिरीको हत्या गरी फरार रहेका आरोपी अन्दाजी ५५ वर्षीय वीरबहादुर गिरी मृत फेला परेका छन् । उनी आफ्नै घर नजिकै तुसारेस्थित एक घरमा झुन्डिएको अवस्थामा बिहीबार बिहान फेला परेका हुन् ।

घाँस काटन गएकी प्रमिला गिरी घर नजिकै बारीमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेको दिनमै आफन्तले किटानी जाहेरी दिएपछि वीरबहादुर गिरी साउन २१ गते बेलुकीदेखि फरार रहेका थिए । उनी मृत अवस्थामा भेटिएकी गिरिका जेठाजु हुन् ।


मृत अवस्थामा भेटिएकी महिलासँगै प्रहरीले हँसिया समेत बरामद गरेका थियो । प्रहरीले दिनरात खोजतलास गर्दै आएपनि उनी पक्राउ पर्न सकेका थिएनन् ।

हत्याका आरोपी मृत अवस्थामा भेटिएको खबर आएपछि अहिले जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक तथा सूचना अधिकारी सन्तोष खनाल घटनास्थल गएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दामोदर केसीले बताए ।