
तुलसीपुर,२४ साउन । दाङ तुलसीपुर उपमहानगरपालिकाले आफ्नो जग्गामा बनेका घरहरु भत्काउन थालेको छ । बुधबार उपमहानगरपालिकाको उत्तरपूर्व तर्फ रहेको एउटा घर भत्काएको छ । उपमहानगरपालिकाले नजिकै ब्यापारिक परियोजनकालागि तुलसी ट्रेड टावर निर्माण कार्य जारी छ । त्यसैले पनि ति घरहरु हटाउनु पर्ने अबस्था आएको हो । त्यहाँ अन्य तीन वटा घर छन् ।
ति घरका सामानहरु स्वयं घरमा मान्छेहरुले निकाल्न लागेको भन्दै अन्य दुई वटा घरहरु पनि तत्काल भत्काउन लागिएको उपमहानगरपालिकाका कार्यबहाक प्रमुख विजय विकले बताउनुभयो ।“उपमहानगरपालिकाको पूर्व उत्तर तर्फका घरहरु हाम्रो जग्गामा बनेका थिए”,उहाँले भन्नुभयो“ति मध्ये एउटा घर भत्काइयो, अन्य दुई वटा घरहरु पनि तत्काल भत्काउने छौं ।”
उपमहानगरपालिकाको करिब पाँच विघा जग्गा अतिक्रमणमा परेको छ । ति सबै जग्गामा पक्की घरहरु बनेका छन् । तुलसीपुर बसपार्कको उत्तरतर्फ आलुमण्डी आसपासको कित्ता नं ५ (ख) ५४४ मा एक बिघा १० कठ्ठा १४ धुर जग्गा छ । त्यस्तै कित्ता नं ५ (ख) कै ५४५ मा ३४ कठ्ठा, ५ (ख) ५४६ मा ११ कठ्ठा र ५ (ख)४९९३ मा ५३ हजार पाँच सय ६५ वर्ग मिटर जग्गा रहेको छ । तीमध्ये अधिकांश जग्गा अतिक्रमणमा परेको छ ।
उपमहानगरपालिकाले गएको कात्तिक ३ गते नै जग्गा खाली गरिदिन भन्दै ३५ दिने सूचना जारी गरेको थियो । तर, ति जग्गामा बनेका संरचना हटाउने कार्यमा उपमहानगरपालिका पछि हटेको छ ।
ति जग्गामा घर बनाएका मध्ये केहीले २०५६ सम्म उपमहानगरपालिकालाई भाडा तिर्ने गरेकामा पछिल्लो समय भाडा पनि नतिरेको पाइएको छ ।



लाइभदाङ । २४ श्रावण २०८०, बुधबार २०:३७ बजे